काठमाडौं । सर्वाधिक ६ पटकको विजेता अर्जेन्टिनालाई २–० ले हराउँदै मोरोक्कोले फिफा यू–२० विश्वकप २०२५ को उपाधि जितेको छ। यो जितसँगै मोरोक्कोले फिफा प्रतियोगितामा पहिलो पटक इतिहास रचेको हो ।
आइतबार चिलीको नेशनल जुलियो मार्टिनेज प्राडानोस रंगशालामा सम्पन्न फाइनल खेलमा मोरोक्कोका यासिर जबिरी नायक बने। उनले खेलको १२औं र २९औं मिनेटमा दुई सुन्दर गोल गर्दै टोलीलाई जित दिलाए।
तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियाले फ्रान्सलाई १–० ले हराउँदै पोडियममा स्थान बनायो। यसअघि सेमिफाइनलमा मोरोक्कोले फ्रान्सलाई र अर्जेन्टिनाले कोलम्बियालाई पराजित गरेका थिए।
च्याम्पियन टोलीका ओथमाने माम्मा प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए र गोल्डेन बल जिते।
अमेरिकाका बेन्जामिन क्रेमास्ची ले गोल्डेन बुट जिते। उनीसँगै कोलम्बियाका नाइजर भिल्लारियल र फ्रान्सका लुकास माइकल ले पनि समान पाँच गोल गरेका थिए। तर क्रेमास्चीले बढी गोलको अवसर सिर्जना गरेको कारण शीर्ष स्कोरर घोषित भए।
उपविजेता अर्जेन्टिनाका गोलरक्षक सान्टिनो बार्बी ले गोल्डेन ग्लभ्स जिते भने, फिफा फेयर प्ले अवार्ड अमेरिका लाई प्रदान गरियो।
मोरोक्कोको यो जित अफ्रिकी फुटबल इतिहासमै ऐतिहासिक उपलब्धि मानिएको छ — जसले विश्व मञ्चमा अफ्रिकी फुटबलको नयाँ युगको संकेत गरेको छ।

