काठमाडौं । प्रभु बैंक लिमिटेडको २४औँ वार्षिक साधारणसभा आज काठमाडौंको बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजंग कार्कीको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको आर्थिक प्रतिवेदनसहित विभिन्न प्रस्तावहरू पारित गरेको छ ।
सभाले गत आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका अनुसूचीहरूसहित सञ्चालक समितिको प्रतिवेदन अनुमोदन गरेको हो । यसैगरी, बैंकका सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको आर्थिक वर्ष २०८१/०८२ को एकीकृत (कन्सोलिडेटेड) वित्तीय विवरण पनि सभाबाट पारित गरिएको छ ।
सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत गरिएका सबै प्रस्तावहरू सर्वसम्मतिले पारित भएको बैंकले जनाएको छ ।
हाल प्रभु बैंकले देशभर ३१२ वटा शाखा कार्यालय, ६८ वटा एक्स्टेन्सन काउन्टर र २६९ वटा एटीएममार्फत आफ्नो सेवा विस्तार गरेको छ । बैंकले अत्याधुनिक प्रविधिसहितको बैंकिङ सञ्जालमार्फत देशभर ३७ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

