नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पार्टीको प्रचार अभियान जनताको घरदैलोमा केन्द्रित हुने बताएका छन्। ठूला–ठूला सभा गर्ने पुरानो शैली अब प्रभावहीन भइसकेको उनको भनाइ छ।
बुधबार सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँगको समायोजन कार्यक्रममा बोल्दै दाहालले अब प्रत्यक्ष रूपमा जनताको घरघर र टोलटोलमा पुगेर पार्टीका एजेन्डा र संकल्प बुझाउनु आवश्यक रहेको उल्लेख गरे।
‘अब चुनाव आउँदैछ, ठूला सभा गर्नुभन्दा जनतासँग प्रत्यक्ष भेटघाट गरेर हाम्रो दृष्टिकोण राख्नु जरुरी छ,’ उनले भने, ‘ठूला सभा गरेर भोट धेरै आउने जमाना पुरानो भइसकेको छ।’
दाहालले पार्टीले विगतका कमजोरीबाट सिक्दै नयाँ ढंगले जनतामाझ जाने प्रतिबद्धता गरेको बताए। ‘हामी पुराना गल्ती नदोहो¥याउने संकल्पसहित देशको नेतृत्व लिन चाहन्छौँ भन्ने कुरा जनतासम्म पुर्याउनुपर्छ,’ उनले भने।
कार्यक्रममा काठमाडौँका समस्याबारे राम्रो समझ भएका सुमन सायमीसहितका नेताहरू पार्टीमा समाहित भएकाले अब उपत्यकाका सबै क्षेत्रमा पार्टीको जित सुनिश्चित हुने अवस्था बनेको दाहालको दाबी छ।

