काठमाडौं । एनआईसी एशिया बैंकले बैंकको नाममा रहेका बैंकिङ र गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीका लागि अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैंकका अनुसार उक्त पोर्टलमार्फत लिलामी बिक्रीमा राखिएका सम्पत्तिसम्बन्धी सबै प्रकारका जानकारी — कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा, तथा गुगल म्यापमार्फत स्थान पहिचान गर्न सकिने व्यवस्था गरिएको छ।
ग्राहकले बैंकले प्रकाशित गरेको लिलामी सूचनामा समावेश क्युआर कोड स्क्यान गरी सीधा पोर्टलमा प्रवेश गर्न सक्नेछन्। त्यसपछि इच्छुक व्यक्तिले सम्बन्धित सम्पत्तिको विवरण हेरेर नाम, मोबाइल नम्बर, इमेल र ठेगाना उल्लेख गरी म्यासेज बक्समार्फत थप जानकारीको अनुरोध पठाउन सक्नेछन्।
बैंकले सञ्चालनमा ल्याएको यो पोर्टल — https://auctionassistance.nicasiabank.com — मा बैंकिङ, गैर–बैंकिङ तथा धितो सम्पत्तिहरूको लिलामी सूचना नियमित रूपमा अद्यावधिक गरिने जनाएको छ।
एनआईसी एशिया बैंकले उक्त पोर्टलमार्फत लिलामी प्रक्रियामा पारदर्शिता, सहज पहुँच र ग्राहकमैत्री सेवा सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ।

