काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेको छ । आयोगमा दर्ता गर्नुपरेपछी पार्टीले आफ्नो दलको नाम कम्युनिष्ट पार्टी नेपाल बनाउँदै दर्ताका लागि औपचारिक निवेदन दिएको छ।
आयोगको बहादुर भवनस्थित कार्यालयमा पुगेका पार्टीका नेता सन्तोष बुढामगर र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतले मंगलबार निवेदन बुझाएका हुन्।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले लोकतान्त्रिक अभ्यासमा सहभागिता जनाएकोमा विप्लव नेतृत्वका नेकपाका प्रतिनिधिलाई धन्यवाद दिएका थिए।
उनले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबै राजनीतिक दलहरूसँग परामर्श गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

प्रवक्ता विश्वकर्माले लोकतान्त्रिक आन्दोलनलाई पुनः सङ्गठित गर्दै देशभरका विभिन्न कम्युनिष्ट शक्तिसँग एकता र सहकार्यका लागिप्रयास भइरहेको बताए। उनका अनुसार पार्टी अहिले सिद्धान्तनिष्ठ, सच्चा कम्युनिष्ट एकताको खोजी र समाजवाद स्थापनाको लक्ष्यमा केन्द्रित रहेको छ।
स्मरणीय छ, विप्लव नेतृत्वको नेकपाले विसं २०७७ फागुन २० गते सरकारले गरेको सहमतिपछि अर्धभूमिगत अवस्थाबाट मूलधारको खुल्ला राजनीतिमा प्रवेश गरेको थियो।

