काठमाडौं / जेनजी विद्रोहको क्रममा भएको साम्राज्यवादी हस्तक्षेप र त्यसको ग्राण्ड डिजाइनअनुसार बनेको सुशीला नेतृत्वको कठपुतली सरकारले देशको राष्ट्रिय स्वाधीनता र जनसार्वभौमसत्तामाथि गम्भीर प्रहार गरेको भन्दै हिजो संयुक्त संघर्ष समितिको ब्यानरमा काठमाडौंको माइतीघर मण्डलामा साना वामपन्थी, देसभक्त शक्ति र जनअधिकारका पक्षधर संस्थाहरुले संयुक्त विरोध प्रदर्शन सम्पन्न गरेका छन्।
सरकारले जारी गरेको निषेधाज्ञा र प्रशासनले प्रदर्शनको अनुमति नदिए पनि देशभक्त शक्तिहरूको अडान र दृढताका कारण उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रमका आयोजकहरूले भने, “राष्ट्रिय स्वाधीनता धरापमा परेको, जनअधिकार कोमामा पुगेको, र जनजीविका अभूतपूर्व संकटमा परेको अवस्थामा मौन बस्नु देशद्रोह समान हो।”
कार्यक्रमको क्रममा प्रदर्शनकारीहरूले साम्राज्यवादी हस्तक्षेप र सरकारको अधिनायकवादी नीतिको विरोध गर्दै “जनसत्ता जिन्दाबाद”, “राष्ट्रिय स्वाधीनता हाम्रो अधिकार हो”, “कठपुतली सरकार मुर्दावाद”, “जनअधिकार हनन बन्द गर” लगायत नारा घन्काएका थिए।
यद्यपि प्रशासनले कडा निगरानी राखेको थियो, तर फिल्डमा खटिएका प्रहरी अधिकृतहरूको जिम्मेवार र संयमित भूमिकाका कारण कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न भएको आयोजकहरूले बताएका छन्। आयोजकका अनुसार प्रहरी अधिकारीहरूसँग भएको भद्रसहमतिको आधारमा केही छोंटो मन्तव्य पश्चात् कार्यक्रम समापन गरिएको हो।
संयुक्त संघर्ष समितिमा आवद्व नेपाल कम्युनिस्ट पार्टीका संयोजक लोकनारायण सुबेदीले कार्यक्रममा “साम्राज्यवादी हस्तक्षेप र त्यसको कठपुतली सरकारले देशलाई साम्राज्यवादी दलदलमा फसाउँदै छ। यो परिस्थिति अन्त्य गर्न देशभक्त, वामपन्थी र जनवादी शक्तिहरूबीच व्यापक एकता र प्रतिरोध अपरिहार्य बनेको छ।” भन्नू भयो। उहाँले ” आन्दोलनकारीहरूले निकट भविष्यमा अझ व्यापक जनसम्पर्क, छलफल र संघर्षका कार्यक्रम अगाडि बढाउने घोषणा गर्नु भयो।कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपालका स्थाइ कमिटी सद्स्य एवं राष्ट्रिय क्रान्तिकारी मोर्चा,नेपालका संयोजक सन्तबहादुर नेपाली लगायतका विभिन्न वामपन्थी समुहका नेताहरुले आ-आफ्नो धारणा राखेका थिए।
माइतीघर मण्डलाको आजको विरोध प्रदर्शनले देखाएको जनआवाज र राजनीतिक प्रतिबद्धता मुलुकभित्र पुनः स्वाधीनता, जनसत्ता र लोकतान्त्रिक अधिकारका पक्षमा नयाँ ऊर्जाको सुरुवात भएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।बिरोध कार्यक्रमको सन्चालन नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सद्स्य नारायण शर्माले गर्नु भएको थियो।

