नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारण सभा पर्सामा सम्पन्न भएको छ । सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१/८२को वार्षिक कार्य प्रगति प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतिबाट पारित गरिएको छ । साथै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरूमा समेत छलफल गरी स्वीकृति प्रदान गरिएको छ ।साधारण सभाले आर्थिक वर्ष २०८२/८३का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिकसमेत निर्धारण गरेको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२को वितरण योग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजी रु. ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ को २१.०५ प्रतिशतका दरले हुन आउने कुल रु. १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ बराबरको लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।स्वीकृत लाभांशअन्तर्गत १६.०५ प्रतिशत नगद लाभांश (लाभांश कर सहित) तथा ५ प्रतिशत बोनस शेयर वितरण गरिने निर्णय गरिएको छ ।
सभाले कम्पनीको वित्तीय अवस्था, व्यवसायिक विस्तार र दीर्घकालीन स्थायित्वलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।

