१२.५० प्रतिशत नगद लाभांश पारित
काठमाडौं। नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोमबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट उक्त लाभांश स्वीकृत गरेको हो।
साधारणसभाले संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ।
यसैबीच, बैंकको सञ्चालक समितिको ६९९औँ बैठकले निर्वाणकुमार चौधरीलाई अध्यक्षमा चयन गरेको छ। नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण गरेपछि उनले औपचारिक रूपमा अध्यक्षको कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।
बैंकका निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सफलतापूर्वक दुई कार्यकाल पूरा गरेका छन्। पौडेलको नेतृत्वमा टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङको प्रवर्द्धन, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) स्थापना तथा मर्जर प्रक्रिया सफल बनाउन उल्लेखनीय भूमिका खेलेको बैंकले जनाएको छ।
हाल नबिल बैंकले देशभर २६८ शाखा सञ्जालमार्फत ३२१ एटीएम सेवा सञ्चालन गर्दै आएको छ। बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


