काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधा सुरु गरेको छ। बैंकले व्यक्तिगत तथा साना एवं मझौला कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो कर्जा आवेदनको अवस्था वास्तविक समयमा (रियल टाइम) ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको हो।
यस सुविधासँगै कर्जाका लागि आवेदन दिएका ग्राहकले अब आफ्नो आवेदनको अवस्था बुझ्न बैंकको शाखा धाउनुपर्ने वा फोनमार्फत जानकारी लिनुपर्ने झन्झटबाट मुक्ति पाउने बैंकले जनाएको छ।
बैंकका अनुसार कर्जाका लागि आवश्यक कागजातहरू पेश गरेपछि ग्राहकलाई एउटा ‘ट्र्याकिङ नम्बर’ उपलब्ध गराइनेछ। सो ट्र्याकिङ नम्बर प्रयोग गरी ग्राहकहरूले बैंकको वेबसाइटको डिजिटल बैंकिङ खण्डमा गई ‘अनलाइन लोन ट्र्याकिङ’ विकल्प चयन गरेर वा सिधै https://digi.nmb.com.np/loan-tracker मा गएर आफ्नो कर्जा आवेदनको प्रगतिबारे जानकारी लिन सक्नेछन्।
यस डिजिटल सुविधाले ग्राहकलाई थप सहजता प्रदान गर्नुका साथै कर्जा प्रक्रियामा पारदर्शिता अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ।

