काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि रातभर मतदान भएको छ। बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहानसम्म जारी रहेको छ।
हाल मतदान अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार एक घण्टाभन्दा कम समयमा मतदान प्रक्रिया सम्पन्न हुने छ। उनका अनुसार अहिले करिब १०० मत खस्न बाँकी छन्।
कुल ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको भए पनि मतदानको गति अपेक्षाकृत सुस्त रहेको छ। कागजको मतपत्रभन्दा छिटो मतदान हुने अपेक्षा गरिए पनि उम्मेदवारको संख्या धेरै भएकाले मतदातालाई समस्या परेको जनाइएको छ।
लामाका अनुसार हाल ८० जना प्रतिनिधि मतदान प्रक्रियामा संलग्न छन् भने करिब २० जना ‘होल्डिङ सेन्टर’मा रहेका छन्।
महाधिवेशनमा कुल २ हजार २ सय ६३ जना प्रतिनिधि सहभागी छन्। तर शतप्रतिशत मत नखसेको निर्वाचन आयोगका एक प्रतिनिधिले जानकारी दिएका छन्।
मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै मतपरिणाम सार्वजनिक गरिने एमालेले जनाएको छ। पार्टीले बिहान ११ बजे भृकुटीमण्डपमै मतपरिणाम सार्वजनिक गर्ने, निर्वाचित नेतृत्वलाई प्रमाणपत्र वितरण गर्ने तथा शपथग्रहण कार्यक्रम आयोजना गर्ने जनाएको छ।
महाधिवेसनमा नेतृत्वका लागि केपी शर्मा ओली र इश्वर पोखरेल छुट्टाछुट्टै समूह बनाएर प्रतिष्पर्धामा छन् ।

