काठमाडौँ । १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। दुबईमा बुधबार सम्पन्न समूह ‘बी’ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो।
नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमै ४ विकेट गुमाउँदै पूरा गर्यो। अफगानिस्तानका उजैरुल्लाह नियाजाईले ६१ रनको उत्कृष्ट इनिङ्स खेले। ओस्मान सादातले २८ रन जोडे भने कप्तान महबूब खान ११ रनमा अविजित रहे।
नेपालका तर्फबाट अभिषेक तिवारीले २ विकेट लिए भने विपिन शर्माले १ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४६.४ ओभरमै सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भएको थियो। नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए। चन्दन रामले २७ रनको योगदान दिए भने अभिषेक तिवारीले २० रन जोडे।
अन्य ब्याट्सम्यानले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्।
अफगानिस्तानका जाइटुल्लाह शाहिनले ३ विकेट लिए भने अब्दुल अजिज, नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान २–२ विकेट हात पारे।
हारसँगै नेपाल प्रतियोगितामा लगातार तेस्रो हार व्यहोर्दै एसिया कपबाट बाहिरिएको छ।
यसअघि नेपाल श्रीलङ्का र बङ्गलादेशसँग पराजित भएको थियो।

