धरान (सुनसरी) । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले श्रमिकको सम्मान र देशको विकास श्रम संस्कृतिमा निर्भर हुने बताएका छन्।
श्रम संस्कृति पार्टी धरान नगर समितिले आयोजना गरेको सवारी चालक तथा मजदुर सम्मान एवं अभिनन्दन कार्यक्रममा बोल्दै अध्यक्ष साम्पाङले काम सानो–ठूलो नहुने उल्लेख गर्दै सबैले श्रम गर्नुपर्ने धारणा व्यक्त गरे। उनले भने, “काम सानो भनेर हेर्ने प्रवृत्तिकै कारण देशले अपेक्षित विकास गर्न सकेको छैन। श्रमिकको सम्मान नगरेसम्म समृद्धि सम्भव हुँदैन।”
श्रम संस्कृतिले मात्र राष्ट्रको समृद्धि सुनिश्चित गर्न सक्ने उल्लेख गर्दै उनले नेपाली समाजमा कामलाई हेप्ने मानसिकतालाई चुनौती दिए। “हामीले श्रमिकलाई अपमान होइन, सम्मान गर्नुपर्छ। सबै श्रमिकको सम्मान सुनिश्चित गर्न सके मात्रै समाज र राष्ट्र अगाडि बढ्छ,” उनले भने।
अध्यक्ष साम्पाङले आगामी दिनमा श्रमिककै नेतृत्व स्थापित हुने दाबी गर्दै भने, “आगामी चुनावपछि श्रमिककै प्रधानमन्त्री बन्नेछ। विकास र निकास श्रम संस्कृतिबाट मात्र सम्भव छ।”
श्रमिकको परिभाषा स्पष्ट पार्दै उनले शारीरिक श्रम गरेर जीविकोपार्जन गर्ने सबै व्यक्ति श्रमिक हुने बताए। “श्रमिक भनेको केवल ढुङ्गा, गिटी वा बेल्चा बोकेर काम गर्ने मात्र होइन। शारीरिक श्रम गरेर जीवन चलाउने सबै मानिस श्रमिक हुन्। हामी सबै श्रमिक हौँ,” उनले जोड दिए।
कार्यक्रममा सवारी चालक, मजदुर, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि तथा पार्टीका कार्यकर्ताको सहभागिता रहेको थियो।

