काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा देव कुमार ढकाल नियुक्त भएका छन् । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ढकाललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
निर्वाचनपश्चात ढकालले सोही दिन पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।
ढकाललाई बैंकिङ क्षेत्रको अनुभवी व्यक्तित्वका रूपमा लिइन्छ । राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका उनले पछिल्लो समय निर्देशकको हैसियतमा काम गरेका थिए ।
बैंकिङ प्रशासन, वित्तीय प्रणालीको नियमन तथा व्यवस्थापनमा सशक्त ज्ञान भएका ढकालको नेतृत्वले राष्ट्रिय वाणिज्य बैंकलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ

