काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बुधवार ९० अर्ब निक्षेप खिच्ने तयारी गरेको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ९० अर्ब निक्षेप खिच्न लागेको हो।
३७ दिनका लागि राष्ट्र बैंकले निक्षेप खिच्ने जनाएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/०८२को शुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ। हाल कुल निक्षेप ७० खर्बमाथि पुगेको राष्ट्र बैंकले जनाएको छ।
निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको हो। ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ साउन ७ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ।
बोल गर्न सकिने रकम न्यूनतम् १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुने छ। राष्ट्र बैंकले बोलकबलमार्फत पुँजी धेरै हुँदा र कम हुँदा मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने व्यवस्था छ ।

