कमलामाई (सिन्धुली) – घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाटको घटनामा बैंकको कार्यालय रहेको घरका धनी स्वयम् नै मुख्य योजनाकार रहेको खुलेको छ। जिल्ला प्रहरीले घरधनी छविलाल स्याङ्तानसहित बैंक लुटमा संलग्न सात जनाको विवरण सार्वजनिक गरेको छ ।
गत पुस २९ गते राति भएको लुटपाट स्याङ्तानकै योजनामा भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेहरूमा काभ्रे बनेपा–१० का ४९ वर्षीय सवारी चालक भागवतसिंह थापा, घ्याङ्लेख–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर–२ का २४ वर्षीय सशाङ्क श्रेष्ठ, नुवाकोट पञ्चकन्या–५ का २३ वर्षीय मिलन गिरी, १९ वर्षीय विवेक मगर, ४४ वर्षीय घरधनी छविलाल स्याङ्तान तथा एक १६ वर्षीय एक किशोर रहेका छन्।
पक्राउ परेकाहरूलाई सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बैंक लुटको मुख्य योजनाकार तीन जना रहेकामा दुई जना पक्राउ परिसकेका छन् भने एक जना फरार छन्।
बैंकबाट लुटिएको दुई करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ। घटनामा प्रयोग गरिएको पेस्तोल नक्कली प्लाष्टिकको रहेको अनुसन्धानबाट खुलेको छ। लुटेराहरूले नक्कली हतियार र खुकुरी देखाएर सुरक्षा गार्डसहितका कर्मचारीलाई नियन्त्रणमा लिएका थिए।
प्रहरीले लुटमा प्रयोग भएको दुई थान खुकुरी, एक थान प्लाष्टिकको पेस्तोल, पाँच थान मोबाइल, ठूलो पानी टेप, विभिन्न रङका नकाव तथा कालो पञ्जा बरामद गरेको छ। घरधनी स्याङ्तानले हतियार व्यवस्थापन र सूचनाको आदान–प्रदानमा सक्रिय भूमिका खेलेको प्रहरीको निष्कर्ष छ।
प्रहरी अनुसन्धानका अनुसार २०८२ असोज महिनादेखि नै बैंक लुट्ने योजना बनाइएको थियो। पुस २३ र २८ गते लुटपाटको प्रयास असफल भएपछि पुस २९ गते लुटपाट गरिएको हो।
काठमाडौँबाट सार्वजनिक यातायात हुँदै बनेपा र त्यहाँबाट टाटा सुमो रिजर्भ गरी लुटेराहरू घ्याङ्लेख पुगेका थिए।
लुटपाटपछि भाग्ने क्रममा प्रहरी र स्थानीयको सहयोगमा अभियुक्त पक्राउ गर्न र नगद तथा प्रमाण बरामद गर्न सफल भएको प्रहरीको भनाइ छ।
पक्राउ परेकाहरूविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको छ।

