काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस सूचीबाट आफ्नो नाम हटाइदिन पार्टीलाई औपचारिक रूपमा आग्रह गरेका छन्।
कांग्रेस कोशी प्रदेश कार्यसमितिले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो नाम सिफारिस गरेपछि खड्काले त्यसप्रति असहमति जनाउँदै पार्टी कार्यालयका मुख्य सचिवलाई निवेदन दिएका हुन्।
निवेदनमार्फत उनले सिफारिस प्रक्रियाबाट आफूलाई अलग राख्न आग्रह गर्दै केन्द्रीय कार्यालयले सम्बन्धित निकायलाई समेत यसबारे जानकारी गराइदिन अनुरोध गरेका छन्।
खड्काको यस निर्णयलाई पार्टीभित्रको आन्तरिक राजनीतिक सन्तुलन र व्यक्तिगत रणनीतिसँग जोडेर हेरिएको छ।
कांग्रेसभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भमा उनको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

