काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आकर्षक सुविधा सहितको परिमार्जित सुनचाँदी धितो कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले नेपाली बजारमा सुन तथा चाँदीप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गइरहेकाले यसलाई गर्जो टार्ने साधनका साथै सुरक्षित लगानीको विकल्पका रूपमा समेत प्रयोग गर्न सकिने जनाएको छ ।
बैंकका अनुसार उक्त अवस्थालाई मध्यनजर गर्दै ग्राहक लक्षित विशेष सुविधासहित सुनचाँदी धितो कर्जा प्रदान गर्न थालिएको हो । योजनाअन्तर्गत कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको व्यवस्था गरिएको छ । ग्राहकहरूले प्रतिस्पर्धी ब्याजदरमा आफ्ना सुन तथा चाँदी धितो राखी कर्जा उपभोग गर्न सक्नेछन् ।
यस योजनाको विशेषता स्वरूप बैंकले कुनै पनि आधिकारिक बिक्रेताबाट सुनचाँदी खरिद गर्नसमेत कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । कर्जाको अधिकतम सीमा ५० लाख रुपैयाँसम्म तोकिएको छ ।
उक्त सेवा महालक्ष्मी विकास बैंकका न्युरोड, महाराजगञ्ज, हेटौँडा, भैरहवा तथा न्युरोड (पोखरा) शाखामार्फत प्रदान गरिनेछ । यद्यपि, सुनचाँदी धितो कर्जाका लागि निवेदन भने बैंकका जुनसुकै शाखा कार्यालयमार्फत पेश गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकले यस योजनाले ग्राहकहरूको वित्तीय आवश्यकतामा सहजता ल्याउने तथा सुरक्षित लगानी संस्कृतिलाई थप प्रोत्साहन गर्ने विश्वास लिएको छ ।

