काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाबाट उठ्न बाँकी बक्यौता तत्काल असुल गरिने बताएकी छन्।
भृकुटीमण्डपको स्थलगत अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले संरचनाहरूको भाडाबक्यौता बाँकी रहेको विषय प्रत्यक्ष रूपमा बुझ्न पाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले तत्काल पत्र काटी बाँकी बक्यौता उठाउने प्रकृयाको शुरुवात गर्ने बताईन् ।
“कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने कुरा सुनेका थियौँ, आज आफैँले हेर्दा समस्या गम्भीर रहेछ,” उनले भनिन्, “बाँकी रकम तिर्नका लागि पत्र काट्दैछौँ।”
मन्त्री श्रेष्ठले भाडा सम्झौता नवीकरणका क्रममा समयसापेक्ष र व्यावहारिक भाडादर निर्धारण गरिने समेत खुलासा गरिन्। “सरकारी दरअनुसार अत्यन्त सस्तोमा होइन, परिषद्लाई केही नाफा हुने गरी भाडा तय गर्ने हाम्रो नीति छ,” उनले भनिन्।
उनका अनुसार बक्यौता बाँकी रहेका व्यक्ति तथा संस्थाको सूची तयार भइसकेको छ र व्यापारिक प्रयोजनका लागि भाडामा लिएका संरचनाबाट प्राथमिकताका साथ बक्यौता उठाइनेछ।
भृकुटीमण्डपका संरचनाको भाडासम्बन्धी विषयमा यसअघि समाज कल्याण परिषद्मा समेत छलफल भइसकेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बुधबार विस्तृत रूपमा स्थलगत निरीक्षण गरिएको जानकारी दिइन्।

