काठमाडौँ । मलेसियाविरुद्धको टी–२० अन्तरराष्ट्रिय महिला क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको छ । क्वालालम्पुरमा आज सम्पन्न खेलमा १२१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०७ रनमा सीमित रह्यो ।
यो पराजयसँगै पाँच खेलको शृङ्खलामा मलेसियाले २–१ को अग्रता बनाएको छ ।
यसअघि पहिलो खेलमा नेपाल तीन रनले पराजित र दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा रुबी पोद्धारले ३१ रन, कप्तान इन्दु बर्माले अविजित २२ रन र सम्झना खड्काले १८ रनको योगदान दिए ।
बलिङतर्फ कविता जोशी र कविता कुँवरले समान दुई–दुई विकेट लिए पनि नेपाललाई जित दिलाउन सकेनन् । अब नेपालले शृङ्खला बराबरीमा ल्याउन आगामी खेल जित्नुपर्ने दबाब छ ।