काठमाडौं । अविरल वर्षासँगै देशभर विभिन्न प्राकृतिक विपत्तिहरूले जनजीवन त्रासदीमय बनेको छ। पछिल्ला दुई दिनमै बाढी, पहिरो, चट्याङ र सवारी दुर्घटनामा परी ४० जनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन्।
सशस्त्र प्रहरी बल नेपालका अनुसार विपद्को सबैभन्दा ठूलो असर इलाम जिल्लामा परेको छ, जहाँ मात्रै २८ जनाले ज्यान गुमाएका छन् र दुई जना गम्भीर घाइते भएका छन्। इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाईमा दुई, फाकफोकथुममा एक, माङ्सेबुङमा तीन, माइजोगमाईमा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ।
त्यसैगरी, उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौंमा एक जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
चट्याङको प्रकोपले खोटाङ, भोजपुर, रौतहट र मकवानपुरमा आठ जना घाइते भएका छन्। पाँचथरमा भएको सवारी दुर्घटनामा थप छ जनाको मृत्यु र छ जना घाइते भएका छन्।
विपत्तिका घटनाले देशभर त्रास र क्षतिको अवस्था सिर्जना गरेको छ भने उद्धार र राहतका प्रयास तीव्र रूपमा चलाइएका छन्।

