रसुवा, असार २४ –
रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा गएराति अबिरल वर्षापछि आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीमा परी ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् भने ९ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ।
प्रहरीका अनुसार भारी वर्षापछि चीनतर्फबाट आएको बाढी एक्कासि रसुवागढी क्षेत्रमा पसेको थियो। बाढीले नेपाल–चीन सीमामा रहेको प्रमुख नाका मितेरी पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। पुल बगाएपछि दुबै देशबीचको आवत–जावत र सवारीसाधन सञ्चालन अवरुद्ध भएको छ।
प्रहरी निरीक्षक रामबहादुर घलेका अनुसार उद्धारकार्य जारी रहेको छ। “विपद् व्यवस्थापन टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बेपत्ता व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको छ,” उनले बताए।
बाढीका कारण सीमावर्ती क्षेत्रमा रहेका भन्सार कार्यालय, सुरक्षाचौकी र केही गोदामहरूमा पनि क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यद्यपि सम्पूर्ण क्षतिको विवरण आउन बाँकी छ।

