काठमाडौँ। नेपाल प्रहरीले नियन्त्रणमा लिइएका सवारी साधन लिलाम गर्न लागेको छ । नियन्त्रणमा लिएका तर, सम्बन्धित धनीले फिर्ता नलगेका साढे ९ हजार बढी सवारीसाधन लिलाम गर्न लागिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यकासहित देशभरीमा दुइ पाङ्ग्रे र चार पाङ्ग्रे गरि ९ हजार ६ सय ४१ वटा सवारी साधन प्रहरी कार्यालयको ‘कम्पाउण्ड’मा थन्किएका छन् । यो २०६६ सालदेखि हालसम्मको विवरण हो । ट्राफिक प्रहरीका अनुसार यसरी थन्किएका ९ हजार ६ सय ४१ सवारीमध्ये आधा सवारी साधन सामान्य मर्मतपछि चल्ने खालका छन् भने आधा जति कवाड भइसकेका छन् । कवाड भइसकेका सवारीलाई स्क्र्याप ९पत्रु० गर्नुपर्ने अवस्था छ ।
पहिलो चरणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय अन्तर्गत बेवारिसे अवस्थामा रहेका यस्ता सवारी साधन लिलाम गरिनेछ भने क्रमशः देशभरी अभियान चलाइनेछ
कार्यविधिको मस्यौदा तयार
नियन्त्रणमा लिइएका तर, सम्बन्धित गाडी धनी लिन नआएका सवारी साधनले प्रहरी कार्यालयका परिसरहरु भरिन थालेपछि ट्राफिक प्रहरीलाई पिरलो परेको छ । यस्ता सवारी साधन के गर्ने भन्ने स्पष्ट निर्देशिका नहुँदा प्रहरीलाई समस्या भएपछि लिलामीको प्रक्रिया सहजीकरण गर्न निर्देशिका बनाइँदैछ ।
यातायातको क्षेत्राधिकार गृह मन्त्रालय मातहत नभई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत छ । यसकारण, ट्राफिक प्रहरी वा गृह मन्त्रालय आफैँले निर्देशिका बनाएर लिलाम गर्न पनि नसक्ने अवस्था छ । यसका लागि मन्त्रिपरिषदबाटै कार्यविधि पास गराउने र त्यस्तो कार्यविधिको मस्यौदा यातायात मन्त्रालय हुँदै मन्त्रिपरिषद लैजाने तयारी छ । नेपाल प्रहरीले बनाएको कार्यविधिको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेको छ ।
चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएका सवारी साधन यदिन सवारी धनीले धनीले लिन आएमा उसैले लैजान सक्ने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ । सवारी धनी आफैँ लिन आएमा उसले राजस्व तिरेर लैजान सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसका लागि निश्चित समय दिइनेछ ।
काठमाडौँबाट लिलामी सुरु गरिने
पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्र रहेका बेवारिसे सवारी व्यवस्थापन गर्ने योजना बनाइएको छ । काठमाडौँ उपत्यकाभित्र मात्रै दुइ पाङ्ग्रे र चार पाङ्ग्रे गरि २ हजार ९६९ वटा सवारी साधनहरु प्रहरीका विभिन्न कार्यालय परिसरमा राखिएका छन् ।
