बुद्ध जयन्ती मात्र एउटा धार्मिक उत्सव होइन, यो मानव सभ्यताका लागि शान्ति, करुणा र ज्ञानको स्मरण गर्ने दिन हो। त गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको यही वैशाख पूर्णिमाको दिन विश्वभरका बौद्ध अनुयायीहरूद्वारा श्रद्धा, भक्ति र बौद्धिक चिन्तनसहित मनाइन्छ।
आज, जब विश्व हिंसा, द्वन्द्व, स्वार्थ र विभाजनका अनेक संकटहरूसँग जुझिरहेको छ, बुद्धको शिक्षा अझ सान्दर्भिक र आवश्यक देखिन्छ। उहाँको दर्शन न कुनै धर्ममा सीमित छ, न कुनै जात वा राष्ट्रमा; उहाँको बाटो मानव जीवनमा शान्ति, समानता र विवेकको उज्यालो फैलाउने बाटो हो।
बुद्धका तीन आधारभूत मार्गदर्शनहरू — शील, समाधि र प्रज्ञा — जीवनको गहिरो मार्गदर्शन हुन्। अहिंसा, करुणा र मध्यम मार्गमा आधारित उहाँका विचारहरू आजको असहिष्णुता र असमानताले भरिएको समाजका लागि विकल्प मात्र होइन, समाधान पनि हुन्।
तर दुःखको कुरा, हामी बुद्धको नाममा पूजापाठ र सांस्कृतिक उत्सव त गर्छौं, तर उहाँको शिक्षालाई व्यवहारमा उतार्नबाट टाढिँदै गइरहेका छौं। बुद्धले व्यक्तिको आत्मपरिष्कार, समाजको शुद्धिकरण र सार्वभौमिक सहअस्तित्वको शिक्षा दिनुभएको थियो। आज हामीले त्यो शिक्षालाई आत्मसात् गर्न नसकेर बाह्य प्रदर्शनमै सीमित बनाएका छौं।
‘बुद्धको बाटो शान्तिको बाटो हो’ भन्ने वाक्य केवल भनाइ होइन, जीवनशैली बन्न आवश्यक छ। जबसम्म हामी भित्रैदेखि शान्ति खोज्दैनौं, तबसम्म बाह्य विकास निरर्थक हुनेछ। समाजमा असहिष्णुता, घृणा, लोलुपता र हिंसा बढ्दै गइरहेका बेला बुद्धका उपदेशले हामीलाई आत्मदर्शन र सह-अस्तित्वको बाटो देखाउँछ।
यस बुद्ध जयन्तीमा हामी सबैले संकल्प गरौं— बुद्धका शिक्षालाई केवल किताब र पूजा-मठमा सीमित नराखौं, आफ्नै जीवनशैलीमा उतारौं। हरेक व्यक्तिमा शान्तिको उज्यालो फैलियोस्, करुणा जागोस्, र विवेक प्रज्वलित होस्।

