काठमाडौं । नेपाल संचालनमा रहेका २० मध्ये आठ वाणिज्य बैंकले पुस महिनाका लागि आधारदर सार्वजनिक गरेका छन्। पुसमा ऋणीहरूले कर्जामा अधिकतम ब्याजदर १३.४ प्रतिशत तिरेहुने भएको छ। मंसिरमा यी आठ बैंकबाट कर्जा लिनेले अधिकतम १४.०४ प्रतिशत तिर्नुपर्ने अवस्था थियो।
बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै कर्जाको ब्याजदर पनि घट्दै गएको छ। गत महिना राष्ट्र बैंकबाट पाइने सापटी सुविधाको ब्याज घटेसँगै बैंकहरूले पनि निक्षेपको ब्याज घटाएका थिए। मंसिरको तुलनामा बैंकहरूको आधार दर समेत घटेको छ। मंसिरमा यी बैंकहरूको आधार दर औसत ९.८८ प्रतिशत रहेकोमा पुसमा ९.६८ प्रतिशत छ।
बैंकहरूले विगत तीन महिनाको मासिक आधार दरको आधारमा औसत आधार दर निकाल्छन्। यसरी निस्कने आधार दर नै कर्जामा लागू हुन्छ। बैंकहरूले आधार दरमा प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्छन्। बैंकहरूको मंसिरमा औसत अधिकतम प्रिमियम दर ४.१६ प्रतिशत रहेकोमा पुसमा यो ३.७२ प्रतिशत छ। आठमध्ये राष्ट्रिय वाणिज्य बैंकमा कर्जाको ब्याजदर सबैभन्दा कम छ। राष्ट्रिय वाणिज्य बैंकको कर्जामा अधिकतम ब्याजदर ११.६४ प्रतिशत छ।
पुसमा यी आठमध्ये सबैभन्दा धेरै ब्याजदर लिनेमा कुमारी बैंक छ। बैंकले १४.२८ प्रतिशतसम्म ब्याज लिने भएको छ। मंसिरको तुलनामा भने कुमारी बैंकको ब्याजदर पनि घटेको हो। मंसिरमा कुमारी बैंकले १५.३९ प्रतिशतसम्म ब्याज लिएको थियो। राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर २८ गतेदेखि पुस ३ गतेसम्मको पाँच दिनमा निक्षेप २४ अर्ब रूपैयाँ थपिएको छ। मंसिर २८ मा बैंकिङ प्रणालीमा ६० खर्ब निक्षेप रहेकोमा पुस ३ गते यस्तो निक्षेप ६० खर्ब २७ अर्ब रूपैयाँ पुगेको छ। त्यस्तै यही अवधिमा बैंकहरूले जारी गरेको कर्जा १० अर्ब रूपैयाँले बढेको छ।

