काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएका छन् ।हेटौंडा उपमहानगरपालिकामा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कार्यक्रममा सदस्य सचिव निराजन बमले प्रचण्डको तस्विर जलाएका हुन् ।
प्रचण्डले हिजो सिन्धुपाल्चोकमा आयोजित पार्टीको एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई वंश नास गर्ने ‘भाइमारा’, मूर्तिचोर र सुन तस्करीका नाइकेको संज्ञा दिएका थिए । प्रचण्डको सो अभिव्यक्तिलाई लिएर राप्रपाका नेता तथा कार्यकर्ताहरुले विरोध गरिरहेका छन् ।राप्रपाको उक्त कार्यक्रममा सयौँ बैंक लुटिएको, देशमा आतंङ्क र अशान्त बनाएको, १७ हजार मानिसको मुत्यु र लाखौँ जनताको दुःखको कारण नै प्रचण्ड भएको भन्दै उनले विरोध गर्दै तस्बिर जलाएको बताए।
प्रचण्डको तस्वीरमा आगो लगाउँदै उनले गणतन्त्र मुर्दावाद भने नारा लगाएका थिए । उनले कार्यक्रममा सहभागीलाई पनि प्रचण्ड हत्यारा मुर्दावाद भन्ने नारा लगाउन लगाएका थिए ।

