साउन १५,
आज नेपाली पात्रोअनुसार श्रावण १५। यो दिन देशभर खीर पकाइन्छ, बाँडिन्छ, खाइन्छ र सामाजिक सञ्जालदेखि गाउँ-घरसम्म “खीर खाऔं, खीर खुवाऔं” भन्ने मिठो सन्देश फैलिन्छ। पछिल्ला वर्षहरूमा यो दिनलाई “खीर दिवस” भनेर मनाउने चलन बढ्दो छ। यो केवल खानाको कुरा होइन, यो हाम्रो परम्परा, संस्कृति, कृषि र सामुदायिक भावनाको मिठो मिश्रण हो।
नेपाली समाजमा खीर खाने परम्परा वर्षौंदेखि विद्यमान छ। यो दिन दही, चामल, दूध, चिनी र घ्यू मिसाएर बनाइने खीर केवल परिकार होइन, स्निग्धता, सद्भाव र आत्मीयताको प्रतिक हो। धेरै घरमा आजका दिन पितृ तर्पण गरिन्छ, देवता र कुलपूजामा खीर चढाइन्छ र सन्तानलाई खीर खुवाइन्छ। यसरी खीरले धार्मिक, सामाजिक र पारिवारिक महत्त्व बोकेको छ।
खीर दिवसको अर्को महत्व कृषि र आत्मनिर्भरता सँग पनि जोडिएको छ। चामल, दूध, घ्यू, चिनी, सख्खरजस्ता सामग्रीहरू प्रायः गाउँघरमै उत्पादन हुने वस्तु हुन्। यस अवसरले स्थानीय उत्पादन, कृषकको मिहिनेत र ग्रामीण अर्थतन्त्रप्रतिको कदरलाई समेत उजागर गर्छ। यही कारण, खीर दिवस केवल सांस्कृतिक पर्व होइन, कृषि सम्मान दिवस पनि बन्न सक्छ।
खीर दिवसले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्छ। यो पर्व जात, वर्ग, धर्म, भाषा वा भूगोलको सीमाभन्दा माथि उठेर सामूहिक सहभोज र आत्मीय सम्बन्धलाई बलियो बनाउने अवसर हो। खासगरी अहिलेको व्यस्त जीवनशैलीमा परिवार, छिमेकी र साथीभाइसँग भेटघाट गर्ने बहाना पनि हो खीर दिवस।
हामीमध्ये धेरैले खीर खाइरहेका छौँ, स्टाटस लेखिरहेका छौँ, तर यसको ऐतिहासिक, सामाजिक र सांस्कृतिक पाटो बुझ्ने प्रयास गरिरहेका छौँ त? आजको दिन हामीले बालबालिकालाई परम्पराको महत्व सिकाउने, आमासँग भान्सामा बस्ने, र आफ्नै उत्पादनलाई प्राथमिकता दिने दिन हुनुपर्छ।

