काठमाडौँ, २० फाल्गुन २०८२।
गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मन्त्रालयले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक प्रशासनिक तथा सुरक्षा व्यवस्था मिलाइसकेको बताएको हो।
बुधबार गृहसचिव राजकुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक सम्पन्न भएको थियो। करिब तीन घण्टा लामो उक्त बैठकमा निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्थापन, संवेदनशील क्षेत्रको अवस्था तथा सम्भावित चुनौतीबारे विस्तृत छलफल गरिएको थियो।
मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लामा निर्वाचन तयारी पूरा भएको जानकारी गराएका छन्। “सबै जिल्लाबाट निर्वाचनका लागि आवश्यक व्यवस्थापन सम्पन्न भएको र सुरक्षा अवस्था सामान्य रहेको प्रतिवेदन प्राप्त भएको छ,” उनले भनिन्।
बैठकका क्रममा गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई थप मजबुत र प्रभावकारी बनाउन निर्देशन दिएका थिए। उनले मतदान केन्द्र तथा मतदानस्थल वरपर सुरक्षा सतर्कता उच्च राख्न, संवेदनशील क्षेत्रको विशेष निगरानी गर्न र मतदातालाई निर्भय वातावरण सुनिश्चित गर्न जोड दिएका छन्।
मन्त्रालयका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबीच समन्वय सुदृढ गरिएको छ। आवश्यक स्थानमा थप सुरक्षाकर्मी परिचालन गरिने तथा आकस्मिक परिस्थितिको सामना गर्न तयारी अवस्थामा रहने जनाइएको छ।
गृह मन्त्रालयले सबै मतदातालाई शान्तिपूर्ण वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न अपिल समेत गरेको छ। मन्त्रालयले निर्वाचनको दिन कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन स्थानीय प्रशासनलाई सतर्क रहन निर्देशन दिइएको जनाएको छ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल, सुरक्षित र मर्यादित बनाउनेतर्फ सरकार केन्द्रित रहेको गृह मन्त्रालयको दाबी छ।

