काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ हालसम्म १ लाख ७२ हजार ६४६ मत गणना भएको छ। निर्वाचन आयोगका अनुसार शनिबार दिउँसो १ बजेसम्म उक्त मत गणना सम्पन्न भएको हो।
हालसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ९४ हजार ९८ मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेको छ। यो कुल गणना भएको मतको करिब ५४.५० प्रतिशत हो।
त्यस्तै, नेपाली कांग्रेसले २८ हजार ३२३ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १९ हजार ९०५ मत ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ८ हजार ८८० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ६ हजार ६४७ मत पाएको छ। यसैगरी श्रम संस्कृति पार्टीले ५ हजार ५६० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
हालसम्मको गणनाअनुसार यी सबै दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ आवश्यक ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेका छन्। अन्य साना दलहरूको मत भने थ्रेसहोल्ड पुग्न सकेको छैन।

