काठमाडौं — आसन्न निर्वाचनको मुखैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि तीव्र बन्दै गएको छ। पार्टी परित्याग गर्नेको श्रृङ्खला बढ्दै जाँदा बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पनि पद र पार्टी दुवै त्यागेका छन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका हुमागाईँले १० हजारभन्दा बढी मत ल्याएका थिए। राजीनामा पत्रमा उनले पार्टी छाड्नुका सात कारण उल्लेख गर्दै उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल, केन्द्रीय संरचना विस्तार, सदस्यता तथा आर्थिक व्यवस्थापनमा अपारदर्शिता रहेको आरोप लगाएका छन्।
दीर्घकालदेखि पार्टीमा सक्रिय कार्यकर्तालाई पाखा लगाई अन्य दलबाट हालै आएका व्यक्तिलाई प्राथमिकता दिइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
“जान्ने र योग्यलाई अघि बढाउने” प्रारम्भिक प्रतिबद्धता व्यवहारमा लागू नभएको उनको टिप्पणी छ।
नेतृत्वलाई खुसी पार्ने, वरिपरि घुम्ने ‘गणेश प्रवृत्ति’का व्यक्तिहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा प्राथमिकता दिइएको आरोप उनले लगाएका छन्।
पार्टीभित्र बढ्दो चलखेलले भविष्यमा संसद् नै अवसरवाद र चटकदार प्रवृत्तिको थलो बन्ने खतरा देखिएको उनको चेतावनी छ।
यसअघि बुधबार मात्रै मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा, नेतृ खेम कुमारी उर्मिला भुर्तेल ले पनि पार्टी परित्याग गरेकी थिए।
लगातारको बहिर्गमनले रास्वपाभित्रको आन्तरिक असन्तोष सतहमै आएको संकेत देखिएको छ।

