काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवा र पोखरामा आयोजना गर्न तय गरेका चुनावी सभा स्थगित गरेको छ। पार्टीले भोलि शनिबार भैरहवा र पर्सि आइतबार पोखरामा सभा गर्ने कार्यक्रम तय गरेको थियो।
दुवै सभालाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यसूची थियो। तर विशेष कारण देखाउँदै सभा स्थगित गरिएको रास्वपाका सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन्।
पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापनलगायत कारणले सभा हाललाई स्थगित गर्नुपरेको उल्लेख छ।
यसबीच गएराति दाङमा रास्वपा समर्थकले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा जलाएको र एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध आपत्तिजनक नाराबाजी गरेको घटनाका कारण रूपन्देहीको सभा स्थगित भएको हुनसक्ने अनुमान सार्वजनिक भएका छन्।
घटनापछि एमाले निकट ‘नेसनल भोलेन्टियर्स फोर्स’ ले पार्टी नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको र झण्डा जलाइएको भन्दै प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ।
यता रास्वपाले भने झण्डा जलाउने र नाराबाजी गर्ने समूह आफ्नो पार्टीसँग सम्बन्धित नभई एमालेकै कार्यकर्ता भएको दाबी गरेको छ।

