काठमाडौं — महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले जलवायु सहनशील वित्त पोषण सडक र भवन निर्माणमै सीमित नराखी महिलाद्वारा सञ्चालित उद्यम, लैङ्गिक संवेदनशील पूर्वाधार र सामुदायिक संरक्षणमा केन्द्रित गर्न आग्रह गरेकी छन्।
नेपाल पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी, २०८२’ मा बोल्दै उनले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पार्दा सबैभन्दा बढी मार महिलामाथि पर्ने बताईन् ।
‘जलवायु, समुदाय र महिलाः जलवायु सहनशील तथा समावेशी पर्यटनका लागि वित्त पोषण अपरिहार्य’ विषयक सामूहिक छलफलमा सहभागी हुँदै मन्त्री श्रेष्ठले पर्यटनबाट हुने आम्दानीलाई सामुदायिक सहनशीलतासँग जोड्न र संरक्षणकर्तालाई प्रत्यक्ष लाभ सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।
उनका अनुसार जलवायु वित्त पोषणको दायरा विस्तार गर्दै महिलामुखी उद्यममा सहज पहुँचयोग्य कोष, सहकार्य सुदृढीकरण, पानी र नवीकरणीय ऊर्जाजस्ता लैङ्गिक संवेदनशील पूर्वाधार तथा वन पदमार्ग, पानी स्रोत र सांस्कृतिक सम्पदा संरक्षणमा महिलाको योगदानलाई मान्यता दिन आवश्यक छ।
मन्त्री श्रेष्ठले हिमताल विस्फोट, अनियमित हिमपात, पहिरो, पदमार्ग अवरोध, पानीको अभाव, जैविक विविधता क्षय र सम्पदामा क्षति जस्ता घटनाले पर्यटन क्षेत्र बढ्दो जोखिममा परेको बताइन्। पर्यटनमा निर्भर समुदायमा महिलाले होमस्टे सञ्चालन, स्थानीय उत्पादन बिक्री, होटल तथा जल सेवा र सांस्कृतिक कार्यक्रममार्फत जीविकोपार्जन गर्दै आएको उल्लेख गर्दै उनले पर्यटन घट्दा सबैभन्दा बढी असर उनीहरूमाथि पर्ने स्पष्ट पारिन्।
उनले महिलाको वित्तीय पहुँच सीमित, जमिन स्वामित्व न्यून र अनौपचारिक वा कम पारिश्रमिक क्षेत्रमा बढी संलग्नता भएकाले जोखिम अझ बढेको बताइन्। “यो वातावरणीय मात्र होइन, लैङ्गिक न्यायको पनि प्रश्न हो,” उनले भनिन्।
ग्रामीण पर्यटन अर्थतन्त्र धेरै हदसम्म अनौपचारिक रहेको भन्दै महिलाद्वारा सञ्चालित व्यवसायमा वास्तविक लगानी मापन गर्न कठिन भएको उनले बताइन्। दर्ताबिनै होमस्टे सञ्चालन गर्ने र सामाजिक सुरक्षाबिना मौसमी काम गर्ने महिलाको संख्या ठूलो रहेको उनको भनाइ थियो।
पर्यटन पूर्वाधार र योजनामा सुरक्षा, सरसफाइ तथा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको पहुँच बेवास्ता गरिएकोप्रति पनि उनले चिन्ता व्यक्त गरिन्। जलवायु परिवर्तनका कारण बसाइँसराइ बढ्दै जाँदा पुरुष रोजगारीका लागि बाहिरिने र महिलाले घर, खेती र सामुदायिक विपद् व्यवस्थापनको अतिरिक्त बोझ बोक्नुपरेको उनले औँल्याइन्।
अनियमित वर्षा र बेमौसमी हिमपातका कारण ट्रेकिङ सिजन नै प्रभावित भइरहेको उल्लेख गर्दै उनले मुख्य पर्यटकीय याममै मौसम अस्थिर हुँदा पर्यटकको बसाइँ अवधि र यात्रा योजना अनिश्चित बन्न थालेको बताइन्। “यसले हाम्रो बजार रणनीतिलाई नै चुनौती दिएको छ,” उनले भनिन्।

