काठमाडौँ, फागुन १७
अमेरिका र इजरायलले संयुक्त रूपमा ईरानमाथि सैन्य आक्रमण सुरु गरेका छन्।अमेरिका र इरानबिचको जेनेभा वार्ता असफल भएपछि शनिबार बिहानदेखि इरानको राजधानी तेहरानलगायत विभिन्न स्थानमा हवाई आक्रमण गरिएको हो।
अमेरिकी समाचार संस्था Associated Press (एपी) का अनुसार आक्रमणमा अमेरिकाको प्रत्यक्ष संलग्नता रहेको दुई जना अमेरिकी अधिकारीले पुष्टि गरेका छन्। अमेरिकी टेलिभिजन संस्था CNNले पनि संयुक्त आक्रमण भएको जनाएको छ।
इरानको जवाफी कारबाही
आफूमाथि भएको आक्रमणको प्रत्याक्रमण स्वरूप इरानले इजरायलसहित कतार, बहराइन, संयुक्त अरब इमिरेट्स र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। ती क्षेप्यास्त्रलाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट पारिएको सम्बन्धित अधिकारीहरूको दाबी छ।
इरानको प्रत्याक्रमणपछि मध्यपूर्व क्षेत्रका अधिकांश हवाई उडान प्रभावित भएका छन्। आक्रमणपछि इरानले आफ्नो हवाईक्षेत्र बन्द गरेको छ भने इजरायलले देशव्यापी आपत्काल घोषणा गरेको छ।
विद्यालयमा विस्फोट, ५१ विद्यार्थीको मृत्यु
कतारस्थित Al Jazeeraका अनुसार इजरायलले प्रहार गरेको क्षेप्यास्त्र दक्षिण इरानस्थित दुई विद्यालयमा विस्फोट हुँदा ५१ जना विद्यार्थीको ज्यान गएको छ। यद्यपि इरानी सरकारी सञ्चारमाध्यमले क्षतिको विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।
ट्रम्पको प्रतिक्रिया र सत्ता परिवर्तनको आह्वान
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ठूलो सैन्य कारबाही सुरु गरिएको बताउँदै यस अवसरमा त्यहाँको “अतिवादी सत्ता” परिवर्तन गर्न इरानी नागरिकलाई आह्वान गर्नुभएको छ।
गत वर्ष जुलाईमा इजरायल–इरानबीच तनाव चुलिँदा अमेरिकाले इरानका तीन प्रमुख आणविक केन्द्रमा शक्तिशाली जिबियु–५७ बम प्रहार गरेको थियो। ती केन्द्रहरू ध्वस्त बनाइएको दाबी गरिए पनि परमाणु कार्यक्रम पुनः सञ्चालन भइरहेको सार्वजनिक भएपछि अमेरिकाले इरानलाई कार्यक्रम रोक्न दबाब दिँदै आएको थियो।
तेहरानमा विस्फोट, खामेनीबारे अनिश्चितता
प्रत्यक्षदर्शीका अनुसार तेहरानस्थित सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कार्यालय नजिक पहिलो विस्फोटको आवाज सुनिएको थियो। सहरको केन्द्र भागबाट बाक्लो धुवाँ उठेको देखिएको छ।
८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयभित्र हुनुहुन्थ्यो कि थिएनन् भन्ने विषयमा तत्काल स्पष्ट हुन सकेको छैन। पछिल्ला दिनमा अमेरिकासँगको तनाव बढेपछि उहाँ सार्वजनिक रूपमा कमै देखिनुभएको थियो।
इजरायलको ‘अपरेसन रोअर लायन’
इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र इजरायलको आकाशमा देखिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले विज्ञप्ति जारी गर्दै इरानबाट हानिएका क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत निस्तेज पारिरहेको जनाएको छ।
इजरायलले यस सैन्य अभियानलाई ‘अपरेसन रोअर लायन’ (सिंहको गर्जन) नाम दिएको छ। आईडीएफले नागरिकलाई सेनाको निर्देशन पालना गर्न आग्रह गर्दै “रक्षा प्रणाली पूर्ण रूपमा अभेद्य हुँदैन” भन्ने चेतावनी दिएको छ।
क्षेत्रीय र विश्वव्यापी प्रभाव
ओमान र जेनेभामा पटक–पटक वार्ता भए पनि सहमति नजुटेपछि अमेरिका मध्यपूर्वका विभिन्न क्षेत्रमा अत्याधुनिक युद्धपोतसहित सैन्य शक्ति तैनाथ गरिसकेको थियो।
नयाँ सैन्य टकरावले मध्यपूर्व क्षेत्रमा व्यापक अस्थिरता निम्त्याउने तथा विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति र कूटनीतिक सम्बन्धमा गम्भीर प्रभाव पार्ने चिन्ता व्यक्त गरिएको छ। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र तत्काल युद्धविरामका लागि पहल गर्न आग्रह गरिरहेको छ।

