– टपटेन खबर, काठमाडौँ
राजस्व अनुसन्धान विभागको रिक्त महानिर्देशक पदमा तीर्थराज चिलुवाल नियुक्त भएका छन्। बुधबार सरकारको निर्णयअनुसार उनलाई विभागको नेतृत्वको जिम्मेवारी दिइएको हो।
विभागले गैरकर राजस्व चुहावटसम्बन्धी अनुसन्धान, तहकिकात तथा अभियोजनको काम गर्ने गर्दछ। गत १५ असारमा तत्कालीन महानिर्देशक चण्डीप्रसाद घिमिरेको अवकाशपछि एक महिनादेखि पद खाली थियो।
नवनियुक्त महानिर्देशक चिलुवालसँग कर तथा राजस्व प्रशासनमा १७ वर्षभन्दा बढीको अनुभव रहेको छ। उनले आन्तरिक राजस्व विभागमा उपमहानिर्देशक, वाणिज्य विभागको महानिर्देशक, राजस्व अनुसन्धान विभागको निर्देशक, इटहरी अख्तियार प्रमुख र प्रमुख जिल्ला अधिकारीजस्ता महत्वपूर्ण पदमा कार्यसम्पादन गरिसकेका छन्।
विशेषगरी वाणिज्य विभागको नेतृत्व गर्दा उनले ‘फाइभ स्टार’ होटलहरूमा नियमविपरीतका क्रियाकलापविरुद्ध कडा कारबाही गरेर चर्चा कमाएका थिए।
नियुक्तिपछि प्रतिक्रिया दिँदै चिलुवालले राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। उनले भने, “आफ्नो क्षमताले भ्याएसम्म गलत हुन दिँदिनँ। यसमा सबैको सहयोग आवश्यक छ।”
उनको अनुभव र सक्रियताले विभागको प्रभावकारिता अझ बढ्ने अपेक्षा गरिएको छ।

