साउन १५
काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं. २ चपलीमा एक अनौठो पुतली फेला परेको छ। केही दिनअघि चर्चित लेखक तथा साहित्यकार अमर अधिकारीको नजर उक्त पुतलीतर्फ परेको थियो। पुतलीको दुईतिरका पखेटाको माथिल्लो भाग दुई सर्पको टाउको आकारमा रहेको र दुईतिरै आँखा जस्तो देखिने बुट्टा पनि रहेको छ। उनले पुतलीको भिडियो पनि खिचे अनि फोटो पनि खिचे। अलि पर पुगेपछि सर्पले बाटो काटिरहेको देखेपछि सतर्कताका साथ उक्त सर्पलाई एकछिन हेरिरहे। सर्प झाडीतर्फ लागेपछि उनी लागे विद्युत महसुल बुझाउनका लागि नेपाल विद्युत प्राधिकरणको कार्यलयतर्फ। सर्जक अमर अधिकारी आफू प्रकृतिप्रेमी पनि हुन्। वरिष्ठ गीतकार तथा पूर्व प्रशासक डा. दामोदर रेग्मीले उनलाई ‘प्रकृतिप्रेमी’ र ‘देशभक्त’ को उपाधि दिइसक्नुभएको छ। त्यस्तै प्रा.डा. गोपिन्द्र पौडेलले उनलाई ‘तुफानी लेखक’ को संज्ञा दिइसक्नुभएको छ भने डा. घनश्याम पुडासैनीले ‘आसुसाहित्यकार’ को उपनाम दिइसक्नुभएको छ। त्यस्तै लोकसेवा आयोगका पूर्व सहसचिव अर्जुनमणि दीक्षितले अमरलाई ‘ब्राण्ड एम्बेसडर अफ रोल्पा’ भनेर चिन्नुहुन्छ। उनले पछिल्लो समय ‘सुपर राइटर’ को उपाधि हासिल गरिसकेका छन्। उनका कृतिहरु एवं लेख-रचनाहरुमा देशभक्ति र प्रकृतिप्रेमका प्रसंगहरु धेरै झल्किन्छन्। कहिलेकाहिँ उनी आफै रुख चढेर काफल, आरु, अम्बा आदि टिपेर खान्छन्। उनलाई सहर बजार घुम्न त्यति मन लाग्दैन, घुम्नका लागि हरियाली क्षेत्र नै उनको रोजाइमा पर्दछ। उनी भन्छन्- “युट्युब होस् वा टिकटक, फेसबुकको रिल होस् वा स्टोरी कुकुर, बिरालो, कीरा, फट्याङ्ग्रा, कमिलाहरुको भिडियो राखियो भने धेरै भ्युज आउँछ। उनले फेसबुक र टिकटकमा अपलोड गरेका केही भिडियोहरुमा लाखौँ संख्यामा भ्युजहरु आइसकेको छ र त्यो बढ्दो अवस्थामा देखिन्छ। काँठक्षेत्रका व्यक्तित्वहरुबाट उत्साह एवम् स्नेह पाउने मोफसलका पहिलो स्रष्टा सायद अमर अधिकारी नै हुन् भन्नुमा दुईमत छैन। ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ नामक पुस्तक काँठक्षेत्र जीतपुरफेदीमा जन्मिएका डा. घनश्याम पुडासैनीबाट लेखिनु, काँठक्षेत्र कीर्तिपुरमा जन्मिएका र हाल अमेरिकाको ओरेगनमा बसोबास गर्ने भरत बाँसकोटाले अमरलाई ‘स्वर्णाभ कलम’ प्रदान गर्नु, अमरकै आत्मकथासङ्ग्रह ‘ओगिल्जा’ मा काँठक्षेत्रकै वियोगी बुढाथोकीले भूमिका लेखिदिनुले उनी काँठक्षेत्रले धेरै माया गरिने व्यक्तिमा गनिन्छन्।