काठमाडौं । लामो समयदेखि चर्किएको आन्तरिक विवादपछि नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट बर्खास्त गरेको छ। पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षधरको राष्ट्रिय भेलाले यस्तो कदम चालेको हो।
पार्टीका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारुका अनुसार, अध्यक्षको पद रिक्त भएसँगै राष्ट्रिय भेलाले नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाएको छ। ‘अध्यक्ष श्रेष्ठलाई साधारण सदस्यबाटै हटाउने प्रस्ताव राष्ट्रिय भेलाले पारित गरिसकेको छ,’ अनुशासन आयोगका अध्यक्षसमेत रहेका डगौराले भने, ‘भेला जारी छ, बिहिबार बिहान ११ बजे बस्ने बैठकमा नयाँ अध्यक्ष चयनबारे छलफल हुनेछ।’
किन हटाइयो रञ्जिता श्रेष्ठलाई पार्टी साधारण सदस्यबाट समेत ? उनीमाथि छन् यस्ता गम्भीर आरोप …
भेलाले रञ्जिता श्रेष्ठलाई हटाउन विभिन्न कारणहरू देखाएको छ ।
केन्द्रीय समिति बैठक राख्न बेवास्ता गरेको उनीमाथि आरोप छ । संस्थापक २१ केन्द्रीय सदस्यमध्ये बहुमत सदस्यले बैठक बोलाउन आग्रह गर्दा पनि उनले बेवास्ता गरेको आरोप छ।
पदमुक्त गर्नुको अर्को कारण अनुशासनहीनता भएको समेत तर्क गरिएको छ । पार्टीको अनुशासन आयोगले सोधेको स्पष्टीकरणको जवाफ नदिएको समेत आरोप उनीमाथि लगाईएको छ ।
अध्यक्ष श्रेष्ठले पार्टीको विधान नमानेको आरोप अर्कोतिर छ ।
कार्यवाहक अध्यक्षको मनपरी नियुक्ति गरेको, आफूखुसी कार्यवाहक अध्यक्ष तोकेको जस्ता आरोप लगाएर उनीलाई कारबाही गरिएको हो ।
पछिल्लो समय उनीमाथि भ्रष्टाचारको आरोप समेत लागेको छ । पोखराको लिची बगान, घुस लिएको अडियो प्रकरणमा मुछिएको श्रेष्ठ माथि गम्भीर आरोप छ ।
रामलाल डगौराले भने, ‘अध्यक्ष घुस लिएको अडियो प्रकरणमा मुछिनुभयो, यसबारे सामाजिक सञ्जालमा आलोचनाहरू भए, तर उहाँले पार्टी कमिटीमा जवाफ दिनुभएन।’ बहुमत केन्द्रीय सदस्यले बैठक बोलाउन अल्टिमेटम दिँदा पनि अटेरी गरेको डगौराले बताए।
गत शुक्रबार नै बहुमत सदस्यले २४ घण्टाभित्र केन्द्रीय समिति बैठक बोलाउन अध्यक्षलाई अल्टिमेटम दिएका थिए।
भेलामा को को छन् उपस्थित
राष्ट्रिय भेलामा नागरिक उन्मुक्तिका २१ जना संस्थापक केन्द्रीय सदस्यमध्ये १२ जनाको उपस्थिति थियो। संस्थापक केन्द्रीय सदस्य लक्ष्मणकिशोर चौधरी निर्णयमा सहमत भए पनि अस्वस्थताका कारण भेलामा उपस्थित भएका छैनन् ।
भेलाको अध्यक्षता संयोजक रामलाल डगौराले गरेका थिए भने पार्टीका संरक्षक रेशमलाल चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
यस घटनाले नागरिक उन्मुक्ति पार्टीमा नयाँ मोड ल्याएको छ। अब पार्टीको नेतृत्व कसले सम्हाल्छ र यसको आगामी दिशा के हुन्छ, त्यो हेर्न बाँकी छ।

