दमौली । तनहुँको देवघाट गाउँपालिका–२ का मनीष मल्ल यतिबेला निकै चिन्तित छन्। व्यावसायिक कागती खेतीमा लागेका उनलाई आफ्नो उत्पादनले बजार नपाउँदा ठूलो समस्या आइपरेको छ। २० रोपनी क्षेत्रफलमा फलेका कागतीहरू बारीमै थुप्रिएका छन्, तर बजार अभावले बिक्री हुन सकेका छैनन्।
मनीषको समस्या दोहोरो छ। उनका अनुसार, “बारीसम्म गाडी पुग्ने बाटो छैन। मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत धेरै पर्छ। त्यसमाथि कागतीको उचित मूल्य नपाउँदा थप समस्या भएको छ।”
काठमाडौंको बजार धाउँदा पनि निराशा
स्थानीय स्तरमा बजार नपाएपछि मनीषले काठमाडौंसम्मको यात्रा गरे। कालिमाटी तरकारी बजारका व्यापारीहरूसँग आफ्नो कागती बिक्रीका लागि अनुरोध गरे। गत वर्ष चितवन, दमौली र पोखरामा सहजै बिक्री भएको कागती यस वर्ष भने बजार नपाएपछि काठमाडौंसम्म पुग्नुपरेको उनले बताए।
”उत्पादित कागती काठमाडौंसम्म लैजाँदा लागत धेरै पर्ने र उत्पादन लागत पनि पाउन गाह्रो छ,” मनीषले भने, “तर बारीमै कुहिनुभन्दा काठमाडौंमा बिक्री गर्न सके केही न केही सहयोग हुने आशा गरेको छु।” उनले ३० केजीभन्दा बढी खरिद गर्ने ग्राहकहरूलाई बारीमै आएर छानीछानी कागती टिप्न दिने प्रस्तावसमेत गरेका छन्।
स्थानीय सरकारबाट सहयोगको अपेक्षा
मनीष मल्लजस्ता किसानहरू स्थानीय सरकारबाट सहयोगको अपेक्षा गर्छन्। “गाउँपालिकाले नै कागतीको बजार खोजिदिएको भए हामीजस्ता कृषकले चिन्ता गर्नुपर्थेन। स्थानीय कृषकलाई प्रोत्साहन गर्ने दायित्व स्थानीय तहको पनि हो नि, तर सहयोग पाएका छैनौं,” उनले दुखेसो पोखे।
किसानलाई हावाहुरीको थप मार
एकातिर उत्पादनले बजार नपाएको चिन्ता छ भने अर्कोतिर गत जेठ १ र २ गते आएको हावाहुरीले कागती खेतीमा ठूलो क्षति पुर्याएको छ।
देशमै केही गरौँ भन्ने सोचका साथ सात वर्षअघिदेखि कागती खेतीमा लागेका मनीष यस घटनाबाट थप निराश बनेका छन्। उनले लगाएका ५०० भन्दा बढी कागतीका बोटमध्ये ५० वटामा हावाहुरीले क्षति पुर्याएको थियो।
वर्षौँको मिहिनेतले हुर्काएको खेती प्राकृतिक प्रकोपले क्षति पुर्याउँदा पनि कतैबाट राहत नपाएको उनको गुनासो छ।
मनीषको यो कथाले नेपालका कृषि उद्यमीहरूले भोगिरहेका बजार अभाव, पूर्वाधारको कमी र प्राकृतिक प्रकोपको मारलाई उजागर गरेको छ।

