काठमाडौं — रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी एकअर्कासँग साटासाट गर्ने सहमति भएको छ।
रुसको रक्षा मन्त्रालयका अनुसार बिहीबार र शुक्रबार दुई दिनको अवधिमा दुवै देशले गरेर कुल ५००–५०० जना युद्धबन्दीलाई आदानप्रदान गर्ने योजना बनाइएको हो।
मन्त्रालयले जनाएअनुसार पहिलो चरणमा बिहीबार दुवै पक्षबाट २००–२०० जना युद्धबन्दीलाई मुक्त गरी साटासाट गरिसकिएको छ। रुसतर्फ फर्किएका सैनिकहरू हाल बेलारुसमा राखिएको र त्यहाँ उनीहरूलाई मानसिक परामर्श तथा स्वास्थ्य उपचार उपलब्ध गराइँदैछ।
रुसको विदेश मन्त्रालयका अनुसार शुक्रबार थप ३००–३०० जना युद्धबन्दीलाई मुक्त गरी आदानप्रदान गरिने कार्यक्रम तय गरिएको छ। यससँगै दुई दिनको अवधिमा दुवै देशले गरेर कुल ५००–५०० जना युद्धबन्दीलाई रिहा गर्ने प्रक्रिया पूरा हुने बताइएको छ।
रुसका राष्ट्रपतिको सहयोगी भ्लादिमिर मेदिन्स्कीका अनुसार यो युद्धबन्दी आदानप्रदान जेनेभामा भएको वार्तामा पुगेको सहमतिअनुसार भइरहेको हो।
फेब्रुअरी १७ र १८ मा जेनेभामा रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच दुई दिनसम्म त्रिपक्षीय वार्ता भएको थियो।
उक्त वार्ता यस वर्षको तेस्रो चरणको कूटनीतिक संवाद रहेको र युद्धसँग सम्बन्धित विभिन्न विषयका साथै मानवीय मुद्दामा पनि छलफल भएको बताइएको छ।
युद्धबन्दी आदानप्रदानको निर्णय सोही वार्ताको परिणामका रूपमा गरिएको जनाइएको छ।

