काठमाडौँ – भूमिहीन तथा सीमान्तकृत महिला किसानको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले केयर नेपालले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडको सहयोगमा किसान कार्ड वितरण सुरु गरेको छ । पहिलो चरणमा उदयपुर, सप्तरी र सिराहा जिल्लाका छ हजार भूमिहीन, सीमान्तकृत तथा महिला किसानलाई सो कार्ड वितरण गर्ने भनी दुई पक्षमा बुधबार सम्झौता भएको छ ।
केयर नेपाल र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कबिच हस्ताक्षर भएपछि विभिन्न जिल्लाका छ जना महिला कृषकलाई सो कार्ड वितरण गरी शुभारम्भ गरिएको छ । किसान कार्डले किसानलाई ऋण सुविधामा पहुँच प्रदान गराउने र कृषि क्षेत्रभित्र नगदरहित कारोबारलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ । । यो किसान कार्डलाई सफल रूपमा कार्यान्वयनमा ल्याउनका लागि आरडी इनोभेटिभ सोलुसनले प्रविधिमा, राष्ट्रिय कृषक समूह महासङ्घले किसानको पहिचान, कृषि प्रसार र वित्तीय संस्था समन्वय गर्ने छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले कृषकको बैङ्क खाता खोली किसान कार्ड वितरण तथा कार्डको उपयोगिताबारे साक्षरता प्रदान गर्ने छ । किसान कार्डमार्फत किसानको वित्तीय संस्था, सरकारी तथा गैरसरकारी निकायबाट प्रदान गरिने विभिन्न ऋण सुविधा, छुट तथा अनुदानमा पहुँच अभिवृद्धि गर्ने आशा गरिएको निर्देशक मोना शेर्पाले बताए। यो सहकार्यले किसानलाई आफ्नो कृषि व्यवसाय विस्तार गर्न, वित्तीय साक्षरता अभिवृद्धि गर्न र जीविकोपार्जनमा सुधार गर्न आवश्यक आर्थिक स्रोतहरू उपलब्ध गराउने लक्ष्य राखिएको उनले बताए ।

