नेपाली समाजमा परम्परागत चाडपर्वहरूले केवल धार्मिक र सांस्कृतिक आस्था मात्र बोकेका छैनन्, ती समाजिक संरचना र पारिवारिक मूल्यलाई जीवित राख्ने आधारस्तम्भ पनि बनेका छन्। आजको विशेष दिन बुबाको मुख हेर्ने दिन — अथवा पितृऔँसी — त्यस्तै पर्व हो, जसले सन्तानलाई पिताप्रति सम्मान, कृतज्ञता र सम्झनाको गहिरो भाव जगाउँछ।
बुबा सन्तानका लागि मार्गदर्शक, पालनकर्ता र प्रेरणाको स्रोत हुन्छन्। आमा जीवनदात्रीको रुपमा सम्झाइएझैँ बुबा परिवारलाई अड्याउने आधारका रुपमा चित्रित गरिन्छ। उहाँहरूको श्रम, संघर्ष र त्यागका कारण नै परिवारले उन्नति गर्ने अवसर पाउँछ। पितृऔँसीमा बुबालाई मनपर्ने खाना, कपडा अर्पण गर्ने प्रचलन छ। जसले बुबाप्रतिको माया, आदर र आशीर्वादप्रतिको अपेक्षा प्रकट गर्दछ।
यस दिन दिवंगत पिताको सम्झनामा श्राद्ध, तर्पण र दान गर्ने परम्पराले पुराना पुस्ता र नयाँ पुस्ताबीचको आत्मिक सम्बन्धलाई अझ मजबुत बनाउँछ। मृतक पिताको आत्माको चीरशान्तिको लागि गरिने कर्मकाण्डले हामीलाई परिवार र संस्कृतिप्रतिको उत्तरदायित्व स्मरण गराउँछ।
तर, यस पर्वको महत्त्व केवल कर्मकाण्डमा सीमित छैन। यसले हामीलाई जीवित पितामाताप्रति सम्मान गर्न, उहाँहरूसँग समय बिताउन र उहाँहरूको भावना बुझ्न प्रेरित गर्छ। बुबाले जीवनभरि गरेको मेहनतलाई केवल आर्थिक योगदानका आधारमा मात्र होइन, परिवारलाई दिएका मूल्य, अनुशासन र संस्कारका आधारमा पनि कदर गर्नुपर्छ।
आजको पुस्ताले परम्परागत पर्वलाई आधुनिक जीवनशैलीसँग सन्तुलन मिलाएर आत्मसात् गर्न जरुरी छ। ‘बुबाको मुख हेर्ने दिन’ हामीलाई हाम्रो परिवार, संस्कार र भविष्यबीचको सेतु सम्झाउने अवसर हो।
यसकारण, आजको दिनलाई केवल पर्वको रुपमा मात्र होइन, पितृ सम्मान र पारिवारिक एकताको प्रतीक पर्वको रुपमा आत्मसात् गरौं।

