काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरु गरेका छन्।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा उक्त दुई संस्था गाभिएसँगै कुल चुक्ता पूँजी ८ अर्ब १२ करोड पुगेको छ।
उक्त लघुवित्तको स्वाप रेसियो १ बराबर ०.८७ रहेको छ। यसको मतलव साना किसान विकास लघुवित्तको प्रति कित्ता सेयर १ सय हुदा आरएमडिसीको ०.८७ पुगेको छ। संस्थाका अनुसार गाभिएपछि हुम्लाबाहेक ७६ जिल्लामा करिब १ लाख २० हजार ऋणी सदस्य पुगेका छन् भने कर्मचारी १ सय ४५ जना रहेका छन्।
उक्त लघुवित्तको एकीकृत कारोबारको शुभारम्भ गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताए।
मर्जरपछि यसको क्षमता र सेवा दिने लक्ष्य अझ घनिभूत हुनुपर्नेमा उनले जोड दिए। सरकारको गरिबी निवारणको लक्ष्य, सन् २०३० सम्म दिगो विकासको लक्ष्यमा साना किसान लघु वित्तीय संस्थाले ठूलो भूमिका खेल्ने उनको भनाइ छ।
यद्यपी वित्तीय संस्थामा समस्या देखिएको बारे पनि उनले प्रसंग निकाले। स्वाभाविक रूपमा साना किसानलाई यसले सेवा दिने भएकाले अहिलेको चुनौती भनेको यसको ब्याज रहेको उनले बताए।
समग्रमा जनसंख्याको आकालाई लघुवित्तले समेटेको बताउँदै अर्थमन्त्री डा. महतले भने, ‘१२ लाख साना किसान परिवार सहकारी मार्फत् सेवा प्राप्त गरिरहेका छन्। यो ठूलो संख्या हो। ४५ अर्ब र सहकारी आफैले सञ्चालन गरेको स्थानीय वित्तीय श्रोतबाट ६७ अर्ब रुपैयाँ किसानलाई आवश्यक सेवा दिएको जानकारी प्राप्त भएको छ। यसमा ८० प्रतिशत महिला, आदिवासी जनजातिको ३८ प्रतिशत, दलितको संख्या ११ प्रतिशत तथ्यांक देखिन्छ। यो राम्रो हो।’

