काठमाडौं– बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्ब नाघेको छ । राष्ट्र बैंकका अनुसार, आइतबारसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्ब ३ अर्ब पुगेको हो । कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूसँग ५३ खर्ब १३ करोड रुपैयाँ रहेको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ खर्ब ९१ अर्ब रुपैयाँ रहेको छ ।
केन्द्रीय बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६० खर्ब नाघ्दा कर्जा लगानी ५० खर्ब नजिक पुगेको छ । हालसम्म बैंकिङ प्रणालीबाट ४९ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये ४४ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह वाणिज्य बैंकहरूले मात्रै गरेका छन् । अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट ५ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।
बैंकहरूको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह सुस्त हुँदा कर्जा दिन सक्ने क्षमता उच्च रहेको राष्ट्र बैंकको तथ्यांकमा छ । हाल बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.३६ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले अधिकतम ९० प्रतिशतसम्म मात्रै कर्जा निक्षेप अनुपात राख्न पाउने व्यवस्था छ । यस्तै बैंकहरूको अन्तरबैंक ब्याजदर २.६२ प्रतिशत रहेको छ ।

