इराक, अफगानिस्तान र इरानमा देखिएको अमेरिकी साम्राज्यवादको क्रुर, हिंस्रक र अमानवीय चरित्र आज डोनाल्ड ट्रम्पको नेतृत्वमा भेनेजुयलामाथि गरिएको आक्रमणकारी नीति र हस्तक्षेपबाट फेरि एकपटक स्पष्ट भएको छ। लोकतन्त्र, मानवअधिकार र स्वतन्त्रताको नारा लगाएर सार्वभौम राष्ट्रमाथि राजनीतिक, आर्थिक र सैन्य दबाब सिर्जना गर्नु साम्राज्यवादको नाङ्गो र निर्लज्ज अभ्यास हो, जसको परिणाम सधैं जनताको रगत, मुलुकको विनाश र दीर्घकालीन अस्थिरतामै सीमित भएको इतिहासले देखाइसकेको छ।
भेनेजुयला आज केवल एक देशमाथिको आक्रमणको शिकार होइन, यो साम्राज्यवादी विश्वव्यवस्थाको प्रत्यक्ष प्रयोगशाला बनेको छ। तेलजस्ता प्राकृतिक स्रोतमा नियन्त्रण जमाउने अमेरिकी स्वार्थले त्यहाँ दशकौँदेखि आर्थिक नाकाबन्दी, मुद्रास्फीति उक्साउने नीति, सञ्चार युद्ध र कठपुतली नेतृत्व निर्माण गर्ने प्रयास गरिरहेको छ। जनताबाट निर्वाचित सरकारलाई ‘अवैध’ घोषणा गर्दै बाह्य शक्तिले मनपर्ने पात्रलाई राष्ट्रपति घोषित गर्नु लोकतन्त्रको हत्या हो, मानवअधिकारको संरक्षण होइन।
अमेरिकी एङ्ग्लो–साम्राज्यवादको मूल चरित्र नै हेपाहा प्रवृत्तिमा आधारित छ। आफूलाई विश्वको निर्णायक र न्यायाधीश ठान्ने यो सोचले विश्वलाई दुई भागमा बाँडेको छ—आफ्नो स्वार्थ पूरा गर्ने ‘मित्र’ र प्रतिरोध गर्ने ‘सत्रु’। यही सोचका कारण इराकमा झुटा हतियारको कथा बनाइयो, अफगानिस्तानलाई दुई दशक युद्धको भट्टीमा हालियो, लिबियालाई ध्वस्त पारियो र आज भेनेजुयलालाई घुँडा टेकाउन खोजिँदैछ। परिणाम सधैं एउटै रह्यो—लाखौँ निर्दोष नागरिकको मृत्यु, शरणार्थी समस्या र राज्य संरचनाको पतन।
साम्राज्यवाद आज केवल ट्याङ्क र बमको प्रयोगमा सीमित छैन। यो अझ परिष्कृत, खतरनाक र भ्रमपूर्ण बनेको छ। सञ्चालित गोट्टीहरू—जेलेन्स्की जस्ता पात्रहरू—लोकतान्त्रिक आवरणमा प्रस्तुत गरिन्छन्, तर उनीहरू आफ्नै देशको स्वाधीनता विदेशी स्वार्थका लागि दाउमा लगाउन तयार हुन्छन्। यस्ता पात्रहरू राष्ट्रका नायक होइनन्, साम्राज्यवादी खेलका मोहरा मात्र हुन्। उनीहरूद्वारा सिर्जित भ्रम चिर्नु आज विश्वका सबै सचेत नागरिकहरूको साझा दायित्व बनेको छ।
साम्राज्यवादको अर्को खतरनाक पक्ष भनेको विचार र सूचनामाथिको कब्जा हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यम, सामाजिक सञ्जाल र एनजिओहरूको जालमार्फत हस्तक्षेपलाई ‘उद्धार’, नाकाबन्दीलाई ‘दबाब’ र युद्धलाई ‘मानवीय हस्तक्षेप’ का रूपमा प्रस्तुत गरिन्छ। यसरी जनमत निर्माण गरेर हिंसालाई जायज बनाइन्छ। यदि जनता सचेत भएनन् भने कुनै पनि देश सजिलै अर्को भेनेजुयला, अर्को इराक बन्न सक्छ।
यही कारण आज विश्वका शान्तिप्रेमी जनता, प्रगतिशील शक्ति र सार्वभौमिकताको पक्षधर राष्ट्रहरूबीच एकता अपरिहार्य बनेको छ। साम्राज्यवाद कुनै एक देशको समस्या होइन; यो सम्पूर्ण मानव सभ्यतामाथिको खतरा हो। जबसम्म यसको विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा संगठित प्रतिरोध खडा हुँदैन, तबसम्म युद्ध, हस्तक्षेप र अस्थिरता दोहोरिइरहनेछ।
नेपालजस्तो सानो तर स्वाभिमानी देशका लागि यो विषय झनै गम्भीर छ। बाह्य हस्तक्षेप, भूराजनीतिक दबाब र ‘नयाँ नेतृत्व’ को नाममा थोपरिने अस्थिरताको पीडा हामीले आफ्नै इतिहासमा भोगिसकेका छौँ। त्यसैले आम नेपाली जनताले भावनात्मक उक्साहट होइन, राजनीतिक चेतना र विवेकका आधारमा निर्णय लिनु आजको आवश्यकता हो। राष्ट्रिय स्वाधीनता, आत्मनिर्णयको अधिकार र शान्तिको पक्षमा दृढतापूर्वक उभिनु नै नेपालको दीर्घकालीन हितमा छ।
अन्ततः, अमेरिकी एङ्ग्लो साम्राज्यवादको हेपाहा प्रवृत्ति, कुनै पनि मुलुकमा एकछत्र शासन थोपरिने दुश्शाहसवाद र सार्वभौम राष्ट्रमाथि गरिने सबै प्रकारका हिंस्रक हस्तक्षेपको हामी घोर भर्त्सना गर्दछौँ। भ्रम, डर र प्रलोभनको जाल तोड्दै सत्य, स्वाधीनता र शान्तिको पक्षमा उभिनु आजको ऐतिहासिक जिम्मेवारी हो। विश्व शान्ति कुनै साम्राज्यको कृपाबाट होइन, जनताको सचेत एकता र संघर्षबाट मात्रै सम्भव छ।

