काठमाडौं । सर्वसाधारण जनताको वित्तीय सेवामा पहुँच अभिवृद्धि गरी राष्ट्रिय पूँजी निर्माण तथा देशको आर्थिक समुन्नतिका लागि सोको प्रभावकारी लगानी गर्न वि.सं. २०देशकाे२२ माघ १० गते सरकारको पूर्ण स्वामित्वमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना भई नेपालको वर्तमान बैंकिङ प्रणालीको एक अगुवा बैंकका रूपमा सञ्चालनमा रहेको छ । साविक राष्ट्रिय वाणिज्य बैंक ऐन, २०२१ अन्तर्गत स्थापना भई बैंक सम्बन्धी कानुनी व्यवस्थामा परिवर्तन भएसँगै वाणिज्य बैंक ऐन, २०३१ र कम्पनी ऐन, २०६३ अनुसार वि.सं. २०६३ वैशाख ६ गते पव्लिक कम्पनीका रूपमा स्थापना भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाका रूपमा बैंकिङ कारोबार गर्दै आएको छ ।
करिब ६ दशक लामो इतिहासमा विभिन्न आरोह अवरोहको सामना गरी अघि बढिरहेको अवस्थामा वि.सं.२०५८ सालदेखि नेपाल सरकारबाट विश्व बैंकको वित्तीय सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत विदेशी तथा स्वदेशी विज्ञ सम्मिलित समूहलाई बैंक व्यवस्थापनको जिम्मेवारी दिई बृहत्तर पुनर्संरचना कार्यक्रम लागू गरिए पश्चात् यस बैंकका कार्य सम्पादनका प्रमुख परिसुचकहरूमा उल्लेख्य सुधार हुन गई हाल स्वदेशी व्यवस्थापनबाट नै नेपालको बैंकिङ क्षेत्रमा प्रतिस्पर्धी बैंकका रूपमा क्रियाशील रहँदै आएको छ ।
आधार तथा व्यावसायिक क्षमता विस्तार, बैंकिङ सेवाको गुणस्तरमा वृद्धि, आवश्यक नीति नियमको तर्जुमा, सूचना प्रविधि प्रणालीलाई समय सापेक्ष सुदृढीकरण, बैंकिङ तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन, डिजिटल तथा भौतिक माध्यम मार्फत वित्तीय सेवा पहुँचमा विस्तार, सरल तथा समयसापेक्ष कार्यप्रक्रिया निर्माण, कर्मचारीको कार्यदक्षता अभिवृद्धि, रेमिट्यान्स कारोबारमा बैंकको हिस्सा वृद्धि, नेपाल सरकार तथा नियामक निकायका नीति नियमको पूर्ण पालना गरी सरल, पारदर्शी, प्रतिस्पर्धी तथा ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्ने योजनाका साथ अघि बढिरहेको छ ।

