काठमाडौँ । गोकर्णेश्वर–७ स्थित बागमती नदीमा करिव ३५ वर्षिया महिलाको शव भेटिएको छ । फागुन २४ मा खुट्टा बाँधेर बोरामा प्याक गरेको अवस्थामा शव फेला परेको हो ।
करिब ३५ वर्षीया मृतकको पहिचान अझै खुलेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले सोमबारसम्म हत्यामा संलग्न आरोपमा ६ जनालाई पक्राउ गरेका छन् । तर, पक्राउ पर्नेहरूले हत्या नगरेको बयान दिएका छन् ।
सर्लाही बागमती गाउँपालिका घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुर घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोट घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोक घर भएकी २० वर्षीया पूजा परियार र मकवानपुरको थाहा नगरपालिका घर भएका १९ वर्षीय पेम्बा लामालाई हत्या आशंकामा नेपाल प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न भएको आशंकामा एक नाबालक समेत पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताएका छन् ।
नदी बिचमा डुबेको अवस्थामा शव भेटिएको हो । शव ६ जना मिलेर व्यवस्थापन गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । खुट्टा बाँधेर बोरामा हालेको अवस्थामा शव भेटिएको थियो । बलात्कारपछि महिलाको हत्या गरेको प्रहरीको आशंका छ । यसबारे अनुसन्धान भइरहेको एसपी बोहराले बताए । उनले भने, ‘विभिन्न कोणबाट अनुसन्धान हुँदै छ ।’ महिलाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गर्न लगिएको समेत प्रहरीले बतायो । पोस्टमार्टम रिपोर्ट आएपछि बलात्कार भएको वा नभएको यकिन हुने छ ।
फागुन २२ मा उनीहरूले महिलाको शव बोरामा प्याक गरेर नदीमा फालेको प्रहरीको अनुसन्धानले देखााएको छ । शव फालेको दुई दिनपछि नदीमा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । फागुन २० मा नै महिलाको मृत्यु भएको प्रहरीको निष्कष छ ।
मृतक र आरोपीहरू एउटै समूहका हुन् । उनीहरू अधिकांश समय सडकमा बसेर प्लास्टिक संकलन गर्ने र मजदुरी गर्ने काम गर्छन् । फागुन २० मा उनीहरू गोठाटारस्थित ‘कालिदिदीको खाजा पसल’ मा थिए । दिनभर सँगै मदिरा सेवन गरेर पूजाको डेरामा गएका थिए ।
पूजाको डेरा शिवचोकभन्दा पारिपट्टि कार्कीडोलमा थियो । काठमाडौँमा डेरा भएका अर्का व्यक्ति हुन्, पेम्बा लामा । उनले माकलबारीमा डेरा लिएका छन् । अरू कृष्णमन्दिर नजिक गाइफार्मको टहरामा बस्दै आएका थिए ।
खाजा पसलमा मदिरा सेवन गरेर पानीको बोतलमा थप मदिरा लिएर ४ जना पूजाको कोठामा गएका थिए । सँगै जानेहरूमा सुरेश, कैलाश, पूजा र मृतक महिला थिए । दुई जना पुरुष राति नै पूजाको डेरा छाडेर हिँडेका थिए । पूजाले प्रहरीसँग भनेकी छन्, ‘बिहान उठाउन खोज्दा शरीर चिसो भएपछि मैले अरूलाई खबर गरेकी हुँ ।’
महिलाको शव दुई दिनसम्म डेरामै राखेर शवको गन्ध फैलिन नदिन धुप बालेका काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए ।
त्यसपछि आरोपीहरूले जोरपाटी चोकबाट बोरा किनेर लगे, खुट्टा बाँधेर बोरामा प्याक गरेपछि झुण्ड्याउँदै नदीमा लगेर व्यवस्थापन गरेपछि उनीहरू फरार भएका हुन् ।
आफ्नो डेरामा महिलाको मृत्यु भएपछि पूजा सिन्धुपाल्चोकस्थित घर तिपिने पुगिन् । तिपिनेबाट फर्केर आएपछि उनलाई जडीबुटीबाट पक्राउ गरिएको अनुसन्धान अधिकृतहरू बताउँछन् । अन्य आरापीहरू गोठाटारस्थित कृष्ण मन्दिर र माकलबारी क्षेत्रबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका आरोपीहरूले दिउँसो सँगै मदिरा सेवन गरेको बताएका छन् । उनीहरूले अनुसन्धान अधिकृतहरूसँग भनेका छन्, ‘सँगै रक्सी खाएका हौँ, हत्या गरेको होइन ।’

