काठमाडौं । नेपाल बैंक लिमिटेड र रोल्पास्थित जलजला बहुमुखी क्याम्पसबीच सम्झौता भएको छ । क्याम्पसमा अध्यापनरत स्थायी प्राध्यापक तथा कार्यरत कर्मचारीहरूलाई बैंकको सेवाग्राही कर्जा उपलब्ध गराउने सम्बन्धमा यही जेठ २८ गते बैंकको रोल्पा शाखामा एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ ।
बैंकको तर्फबाट बैंकको लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख सुशीलकुमार नेपाल र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खिमबहादुर खड्का क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । क्याम्पस प्रमुख क्षेत्रीले नेपाल बैंकले प्रदान गर्दै आइरहेको समयसापेक्ष उत्कृष्ट वित्तीय सेवाहरूबाट आफूहरू सन्तुष्ट र उत्साहित रहेको बताए । बैंकको तर्फबाट प्रदेश प्रमुख सुशीलकुमार नेपालले क्याम्पसले आफ्नो वित्तीय कारोबारहरू बैंकको डिजिटल बैंकिङमार्फत् सञ्चालन गर्न अनुरोध गर्दै क्याम्पस परिवारसँग वित्तीय सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । साथै, निजले आगामी दिनमा क्याम्पस र बैंकबीचको सम्बन्ध अनन्तकालसम्म रहने विश्वास व्यक्त गर्दै बैंकले क्याम्पस परिवारका साथै ग्राहकहरूलाई समयसापेक्ष बैंकिंङ सेवा सुविधाहरू थप प्रभावकारी बनाउनका निमित्त बैंक निरन्तर लागिपरेको जानकारी समेत गराए ।
उक्त कार्यक्रममा बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका उपप्रबन्धक कुलराज घिमिरे, बैंकको रोल्पा शाखाका शाखा प्रबन्धक विष्णु पाण्डे, क्याम्पस उपप्रा÷संयोजक श्याम बुढा मगर लगायतको उपस्थिति रहेको थियो ।

