– तोमनाथ उप्रेती ,उपसचिव,नेपाल सरकार
विषय प्रवेश
सहकारीको विश्वव्यापी मुल्य मान्यता र सिद्धान्त बमोजिम सहकारीहरु सञ्चालन गर्नु नै सहकारीमा सुशासन हो ।सुशासन यस्तो प्रक्रिया हो जसमा सहकारी संघ संस्थाहरूले उत्तरदायित्व,पादर्शीता,सहभागिता जस्ता तत्वहरुका निर्णय प्रकृयामा उच्च अभ्यास गरेका हुन्छन् ।। सुशासनको ढाँचाभित्र संस्था सञ्चालन प्रकृयामा अवलम्वन गरेका प्रक्रियाहरू,बिभागीय निर्देशनहरु, सहकारीका मुल्य मान्यता र सिद्धान्तहरु पर्दछन् ।वर्तमान विश्व परिवेश नियाल्दा वित्तिय संकटको भुमरीले विश्वका विभिन्न देशहरु आक्रान्त हुन पुगेका छन् । नेपालको सहकारी क्षेत्र समेत यो रोगबाट अछुतो छैन । सहकारीका मुल्य मान्यताहरुको अपरिपालनाको ग्राफ बढ्दो छ ।सहकारी क्षेत्रमा सुशासन हराउँदै गएको अवस्था विधमान छ । सहकारी क्षेत्रमा सदाचार र सुशासनको ठुलो महत्व छ्र । यो महत्व नवुझ्नाले सहकारी क्षेत्रमा संकटको वादल मडारिरहेको अवस्था विधमान छ ।अहिले सहकारीमा देखिएको मुख्य समस्या नै संस्थागत सुशासनको अभाव हो ।
सहकारीमा सुशासन
सहकारीका आधारभूत मुल्य र मान्यता एवं विधिबाट सञ्चालन भएका सहकारीहरुले आफ्नो उद्देश्य अनुसार आफ्ना सदस्यहरुलाई विभिन्न किसिमका सेवा प्रदान गर्दै आएका पनि छन। ठूलो संख्यामा सदस्यहरुलाई संगठीत गर्दै स्रोत परिचालन, उत्पादनमा योगदान र रोजगारी सिर्जना गरेका छन । छरिएको पूँजी परिचालन मार्फत आर्थिक उत्थानमा योगदान दिएका छन। तर सहकारीको पवित्र मुल्य मान्यता र आदर्श विपरित समुह र सदस्य भन्दा वाहिर गरी वैकिङ प्रणाली अनुरुप वचत संकलन तथा कर्जा प्रवाह गर्दै अत्यन्त ठूलो परिमाणमा वचत परिचालन तथा विना धितो ठूलो परिमाणमा ऋण लगानी गर्ने, घर जग्गा कारोवार, शेयर खरिद विक्री जस्तो कारोवार वा अत्यन्त ठूलो लगानीका परियोजना निर्माण जस्ता कार्यमा सहकारीको संलग्नता वढ्न जाँदा यस क्षेत्रमा समस्याहरु पनि वृद्धि हुँदैगएका छन। आफ्ना सदस्यहरुमा भन्दा अन्य व्यक्तिहरुबाट ठूलो परिमाणको वचत संकलन गर्न वाणिज्य वैंकहरुसँग प्रतिस्पर्धा गरी वैंकहरुले भन्दा आकर्षक व्याज तथा मुनाफाको लोभ देखाएर बचतकर्ताहरु आकर्सित गर्ने होडवाजी सहकारीहरुवीच वढ्दै गएको देखिन्छ । संकलित वचतको परिचालन गर्न अपनाउनुपर्ने विधि तथा प्रणाली अपनाउनुको विपरित स्वार्थ वाझिने गरी सञ्चालकहरुले नै विना धितो ऋण लिने, डमी ऋणी खडा गरी सञ्चालक तथा व्यवस्थापक आफै रकम उपयोग गर्ने जस्ता वित्तीय अनुशासनहिन कार्य सहकारीमा भएका देखिएका छन। संस्थागत सुशासन अत्यन्त न्यून हुन गई समयमा साधारण सभा नगर्ने, भएका साधारण सभा पनि सिमित व्यक्तिहरुको उपस्थितीमा किर्ते गरी सम्पन्न गर्ने, नियमित लेखा परिक्षण नगराउने जस्ता गैह्र जिम्मेवारपन व्यवहार सहकारी सञ्चालकहरुबाट भएको देखिएको छ ।हाल समस्याग्रस्त देखिएका सहकारी सञ्चालकहरुले अनियमित रुपमा सहकारीको वचत रकम हिनामिना गरी सम्पर्क विहिन भई वस्ने र कार्यालयबाट वचतकर्ता सदस्यहरुलाई चाहिएको वेला वचत फिर्ता गर्न नसक्ने कारण सहकारीप्रति आम सर्वसाधारणको विश्वास क्रमशः खस्कदै गएको अवस्था विधमान छ ।
संस्थागत सुशासन
सहकारी संस्थामा हाम्रो कार्य गर्ने प्रणाली कस्तो छ ? र सहकारी संस्थाभित्र विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दाका बखत नेतृत्वले आफू अन्तर्गतका तह वा निकायमा प्रयोग गर्ने भाषा, शैली, व्यवहार तथा दिने निर्देशनात्मक विषयहरू कस्तो रहन्छ भन्ने नै हो । सुशासनका लागि प्रजातान्त्रिक रूपमा सबैलाई समेटेर गरिएका कार्यहरू नै उत्कृष्ट हुन्छन् । सहकारी संस्थामा प्रक्रिया तथा शैलीहरू समेत सोही अनुसार अगाडि बढ्नु उपयुक्त मानिन्छ । जसका लागि सहभागिता, जवाफदेहिता, पारदर्शीता तथा विश्वासनीयता जस्ता विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । त्यसो गरेको खण्डमा सुशासन कायम गर्न सकिन्छ र यसको विकास हुन्छ ।संस्थामा कुनै पनि कार्यहरू सञ्चालन गर्दा सबै पक्ष अर्थात् शेयर सदस्य, सञ्चालक समिति लेखा सुपरिवेक्षण समिति लगायत सम्पूर्ण तह वा निकायहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता खोजिएको हुन्छ । आर्थिक क्रियाकलाप तथा भए गरेका निर्णयहरूको सबैले बुझ्ने गरी पारदर्शिता कायम गर्नका लागि अग्रसर हुनु पर्दछ । संस्थामा रहेका शेयर सदस्यहरूको विश्वासको जग नै सहकारी हुनु पर्दछ । त्यस्ता सहकारी संस्था जहिले पनि सुशासनयुक्त संस्थाको रूपमा कायम रही राम्रोसँग अगाडि बढ्न सक्छन् ।
संस्थालाई राम्रोसँग अगाडि बढाउनका लागि संस्था भित्रको व्यवस्थापकीय, प्राविधिक तथा संस्थागत पक्षलाई व्यवस्थित गर्नु पर्दछ । जसका कारण संस्थाले अवलम्बन गरेका कार्य दिशा पुरा गर्न वा लक्ष्य तथा परिणाम हासिल गर्न सकिन्छ र संस्थामा सुशासन कायम हुन्छ ।
संस्थामा आर्थिक सामाजिक, सांस्कृतिक तथा विभिन्न विषयमा छलफल तथा कार्यान्वयनका तहमा निर्णय गरी कार्यान्वयन गर्दा पारदर्शिता कायम गर्न सक्नु पर्दछ । विशेष गरी नेतृत्व तह यस्ता विषयमा चनाखो बन्नु पर्दछ । सुशासनको दृष्टिकोणबाट सहकारीसंघ÷संस्थामा भएका हरेक क्रियाकलापहरू जस्तै– आर्थिक क्रियाकलाप एवम् सम्पूर्ण प्रक्रियाहरू पारदर्शी हुनु पर्दछ । वित्तीय विवरणहरू प्रमाणित गर्ने, संस्थाका क्रियाकलापहरू, कर्मचारी छनौट प्रक्रिया सूचनाहरू समेत पारदर्शी र स्पष्ट हुनुपर्दछ ।साथै संस्थाले गरेका सबै सामाजिक कार्यहरू पुस्तिकामा प्रकाशित गर्नुपर्छ । यसमा संस्थाले सञ्चालन गरेका विभिन्न स्कीम, कार्यक्रम, आय आर्जन लगायतका कामहरू समेटिनु पर्छ । यस्तो वार्षिक सभामा अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको आय व्ययको विवरण, लेखा परीक्षकको प्रतिवेदन र विविध गतिविधि झल्किने फोटोहरू पनि सार्वजनिक गर्नुपर्छ । यसरी नियाल्दा सहकारी संस्थाहरूमा गोप्य राख्नुपर्ने खासै कुनै पनि सूचना हुने अनुमान गर्न सकिन्न । पारदर्शिताले नै सहकारी संस्थालाई थप उचाइमा पु¥याउने हुँदा सबैको ध्यान खुलापनातर्फ नै उन्मुख हुनुपर्छ ।
सुशासनको दृष्टिकोणबाट हेर्दा सहकारी संस्थामा हरेक पदाधिकारीहरुले सहकारी संस्थाको हितका लागि र आफूले गरेका निर्णय र कामप्रति जवाफदेही हुने व्यवस्था मिलाउनु पर्दछ । साथै संस्थाको कामप्रति कसैले जानकारी लिन चाहेको समयमा स्पष्ट जवाफ दिन सक्ने हुनु पर्दछ ।संस्थामा कुनै पनि विषयमा छलफल गर्दै जाँदा निर्णयमा पुग्नका लागि अल्पमत तथा बहुमत भएमा वा पक्ष र विपक्ष भई मत बाझिने अवस्था भएमा सङ्कोच सिर्जना हुन जान्छ । जसका कारण सहकारी संस्था जुन गतिमा अगाडि बढ्नु पर्ने हो सो अनुरूप अगाडि बढ्न सक्दैन । त्यसै कारण पनि सहकारी संस्थामा हामीले कुनै पनि निर्णयहरू निर्णयार्थ प्रस्तुत गर्दा वा छलफल अगाडि बढाउँदा सर्वसम्मत निर्णयको पहल गर्नु पर्दछ ।संस्थाको बैठकका निर्णय लिन दिन सक्ने आधार कस्तो छ भन्ने विषय पनि महत्वपूर्ण हुन्छ । त्यसैले निर्णय अर्थपूर्ण भयो वा भएन सहभागिता कस्तो रह्यो, शेयर सदस्य तथा सरोकारवालाहरूको उपस्थिति कस्तो रह्यो, अधिकारको विकेन्द्रीकरण भयो कि भएन भन्ने कुरालाई समेत नेतृत्वले ध्यान दिनु पर्दछ ।
सहकारी संस्थाहरू प्रचलित ऐन, कानुन र नीतिले चल्नु पर्दछ । संस्थामा हरेक गतिविधिहरू सञ्चालन भइरहेका हुन्छन् । ती कार्यक्रमहरू नीतिसङ्गत छन् वा छैनन् भन्ने आधारहरू स्पष्ट पार्न सक्नु पर्दछ । निर्माण भएका र साधारण सभाबाट स्वीकृति प्राप्त नियमावलीहरू, आचार संहिता तथा कार्यविधिहरू स्पष्ट रूपमा अनुसरण गर्दै सोही अनुरूप चल्नु पर्दछ । नीति नियम विपरीत जानेलाई दण्ड सजायको स्पष्ट व्यवस्थाका साथै राम्रो गर्नेलाई उत्प्रेरणा र पुरस्कारको व्यवस्था समेत हुनुपर्दछ ।संस्थामा हरेक क्रियाकलापहरूको जिम्मेवारी नेतृत्वको हुन्छ । संस्थामा आइपरेका विभिन्न पक्षको अनुगमन मूल्यांकन समेत नेतृत्व पक्षले गर्नु पर्दछ । नेतृत्वले सबै जिम्मेवारी आफ्नो काँधमा मात्र सिमित नराखी योग्यता, क्षमता तथा दक्षताका आधारमा अन्य कर्मचारी तथा व्यवस्थापकहरूमा समेत बाँडफाँड गर्दै अगाडि बढ्नु पर्दछ ।
प्रत्येक सहकारी संस्थाले आफ्नो सामान्य विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्छ । यस्तो विवरणमा सहकारी संस्थाको नाम र ठेगाना, दर्ता नम्बर र मिति, दर्ता गर्ने कार्यालय र कार्यक्षेत्र तथा महिला र पुरुष छुट्टिने गरी सदस्यता सङ्ख्या सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्छ । साथै आफ्नो संस्थाको सञ्चालक समितिमा को को छन् ? सूचना अधिकारी को तोकिएका छन् ? उनको नाम, पद र सम्पर्क नम्बर पनि सार्वजनिक गर्नुपर्छ । वित्तीय अवस्थाको विवरणतर्फ प्रत्येक सहकारी संस्थाले पछिल्लो आर्थिक वर्षको अन्त्यसम्मको स्थिति सार्वजनिक गर्नुपर्छ । जसमा शेयर पुँजी, जगेडा कोष, अन्य कोषहरू, कुल बचत, कुल लगानीमा रहेको ऋण, त्यसमा भाखा नाघेको र भाखाभित्रको, चालू आ. व. को सूचना प्रकाशित भएको मितिसम्मको आम्दानी र खर्च सार्वजनिक गर्नुपर्छ । यसले सहकारी संस्थालाई आम मानिसको नजरमा ‘इमानदार संस्था’ को सूचीमा राख्न मद्दत गर्छ । साथै सहकारी संस्थाहरूले वित्तीय विवरणको अवस्था पनि सार्वजनिक गर्नुपर्छ । यस अतिरिक्त सूचनाको हकसम्बन्धी ऐन बमोजिम प्रत्येक सहकारी निकायहरूले तीन–तीन महिनामा आफ्नो गतिविधि स्वतः प्रकाशन सार्वजनिक गर्नुपर्छ ।
सुशासनका लागि प्रत्येक सहकारी संस्थाले आफ्नो निकायले प्रवाह गर्ने सेवाहरू झल्किने नागरिक बडापत्र तयार गरी संस्थाको अग्र भागमा टाँस गर्नुपर्छ । सबै सहकारी संस्थाले आफ्नो वेबसाइट निर्माण गरी आफ्ना सम्पूर्ण गतिविधि सार्वजनिक गर्नुपर्छ । आफ्नो कार्यक्रम हुने स्थानमा होर्डिङ बोर्ड राख्नुपर्छ । कुनै नयाँ निर्णय भएमा प्रेस विज्ञप्ति जारी गर्ने बानीको विकास गर्नुपर्छ । निश्चित तोकिएको समयमा सार्वजनिक सुनुवाइ गर्नुपर्छ । प्रत्येक सहकारी संस्थाले आफ्नो निकाय सुशासन र पारदर्शिताका लागि ‘नमूना निकाय’ हुने गरी काम गरेमा सफलता हासिल हुने कुरामा ढुक्क हुन सकिन्छ ।
सहकारी सञ्चालकहरु नैतिक, इमानदार र सदाचार रुपमा योग्य हुनुपर्छ । जिम्मेवारी लिने व्यक्तिहरू योग्य, इमानदार र जवाफदेही हुनुपर्छ । उसका हरेक व्यवहारले नैतिकता र औचित्यको पुष्टि गर्न सक्नुपर्छ, सर्वसाधारणको मन जितेको हुनुपर्छ । संगठनभित्र निष्ठाका साथै सामाजिक रहनसहन पनि सदाचारी हुनुपर्छ । जनताको सेवक भएकाले सर्वसाधारणसँग उसको प्रस्तुति मीठो र विनम्र हुनैपर्छ ।लोकतन्त्र, शान्ति, सुशासन, अनुशासन र समृद्धिको आधारभूमि सदाचार हो। सहकारी क्षेत्रमा सदाचारले सर्वोच्च स्थान ओगटेको हुन्छ। सहकारी क्षेत्रको संस्थागत विकासका लागि सुशासन अनिवार्य शर्त हो। सहकारी क्षेत्र सक्षम, प्रभावकारी र सफल हुन सहकारि क्षेत्रमा नैतिकता, समर्पणभाव, पारदर्शिता, उत्तरदायित्व, स्वच्छता, जवाफदेही र आर्थिक सदाचार रहनुपर्छ।
वतमान सन्र्दभमा लोभ, मोह र लालचका कारण बेथितिले पनि प्रश्रय पाउँदै आएको छ। यसर्थ क्रमिक रूपमा व्यक्तिगत तहमा आफूले गर्नुपर्ने काम कुन उचित र कुनचाहिँ अनुचित छुट्याउने, व्यावसायिक तहमा पेसागत मान्यता अवलम्बन गर्ने, संगठन तहमा कार्यमूलक संस्कृतिको विकास गर्ने र सामाजिक तहमा समुदायको चाख चाहनाप्रति संवेदनशील बन्ने बानी विकास गरेरै सहकारि क्षेत्रलाई नैतिक र सदाचारी बनाउन सकिन्छ ।सुशासन र सदाचारिता भनेको प्रधान रुपमा व्यवहार हो। व्यवहारलाई धारणाले निर्देशित गर्छ। त्यसैले, धारणा परिवर्तन गर्न जरुरी छ। धारणामा परिवर्तन गर्न आत्मानुशासन, शिक्षा, कानुन, नीति नियम, दण्ड पुरस्कार, आध्यात्मिक चिन्तन र व्यवहारजस्ता पक्षहरूको प्रष्ट सैद्धान्तिक व्यवस्था र इमानदार व्यवहारिक अबलम्बन जरुरी छ।
सदाचार र सुशासन कुनै प्राकृतिक समस्या होइनन यी मानव समाजबाट सिर्जित समस्या हुन । त्यसैले यसको समाधान पनि हामी सबै तह र तप्काका मानिसहरु मिलेर गर्नुपर्छ जसका लागि शिक्षा र चेतनाका लहरहरु हरेक बस्ती बस्तीमा पुर्याउन सक्नुपर्छ्र त्यसैले अहिले देखिएको सीमित व्यक्तिको रुचि र स्वार्थप्रधान कार्यशैलीमा परिवर्तन गरि राष्ट्र र जनताको बृहतर हितमा केन्द्रित हुने व्यवहार विशेष रुपमा राजनीतिकर्मी, राष्ट्रसेवक कर्मचारी र निजी क्षेत्रमा आवस्यक छ्र लोकतान्त्रिक संस्कार र पद्धतिलाई व्यवहारमा आत्मसाथ गने इमान्दार, राजनीतिक प्रयत्न आवश्यक छ न कि ओठे प्रतिबद्धता्र राजनीतिकर्मी राष्ट्रसेवक कर्मचारी र निजी क्षेत्रले जति धेरै अनुशासन पालना गरे, सदाचारी बने र कर्तव्य निर्बाह गरे त्यति सजिलै सुशासन कायम हुन्छ र राष्ट्र निर्माणमा सहयोग पुग्छ्र ।
त्यसैले सहकारी सञ्चालकहरुले आफूभित्रको इमानदार सत्य तथा संवेदना र ताकतको मूल्यांकन गरी अरुप्रति देखापर्ने कलुषित विचार, धारणा र दृष्टिकोणलाई यो अहंकार हो भन्ने ठानी दया र करुणाले भरिएको आचरण प्रदर्शन गर्ने क्षमताको विकास गर्नु पर्छ । भौतिक जगतमा स्वार्थले ल्याउने विलाषिता, भ्रमपूर्ण र क्षणिक भावावेश हो भन्ने ठानी डाहा र इष्र्यालाई मनभित्र उब्जनै नदिनेतर्फ ध्यान केन्द्रित गरिरहनु पर्छ । जसलाई देख्दा वा जसको स्मरण गर्दा डाहा उत्पन्न हुने परिस्थिति हुन्छ त्यसतर्फ ध्यानै नदिई सोचमा रुपान्तरण गरी ऊ र आफू एउटै सिक्काको दुई पाटा हौँ भन्ने चिन्तनतर्फ सोच बढाउनु पर्छ । आत्मविश्वासका साथ स्वभाव र विचारमा स्वच्छता ल्याई सकारात्मक गोरेटोतर्फ विश्वास जगाइराख्नु पर्छ । जहाँ स्वच्छता र विश्वास हुन्छ त्यहाँ श्रद्धा र समर्पणभाव स्वतः जागृत हुन्छ । त्यसैले मिथ्या अभिमान र म सबै हुँ भन्ने दम्भलाई तिलाञ्जली दिई मेरो सबै र सबै मेरा भन्ने चिन्तन बढाई आफूलाई नैतिक चरित्रवान बनाउनु पर्छ । तब मात्र सहकारीको जीवनले नयाँ इतिहास सिर्जना गर्न सक्छ र यिनिहरुलाई जीवन्त वनाउन सकिन्छ । सहकारी क्षेत्र सुधारका लागि यो वर्तमानसमयले खोजेको चिन्तन हो ।
अहिले सहकारी क्षेत्रमा चाहिएको विषय नै सदाचार र सुशासन हो । सदाचार र सुशासन एक–अर्कामा अन्तर–आबद्धित छन् ।संस्थाको नेतृत्व पनि समाजमा असल आचरण स्थापित गरी संस्कार र सभ्यता व्यवस्थित गर्न निर्माण भएका व्यक्तिवाट हुनु पर्दछ । नेतृत्व मूलतः विधि र निष्ठाको प्रतीक हो । नीतिप्रतिको निष्ठा नेतृत्व निर्माणको आधार हो, यसरी नेतृत्व निर्माण भएपछि उसले नीतिनिष्ठालाई बलियो बनाउँछ । नेतृत्वको उदाहरणीयताले संस्थाहरू बलिया हुन्छन् । संस्थाहरू बलिया हुनु भनेको सुशासनको जग बस्नु हो । सुशासनका लागि नै पदाधिकारी तथा संस्थाहरू परिचालित हुन्छन्, जसमा नैतिकता, सदाचार र व्यावसयिकताका मूल्य आचरणमा देखिनुपर्छ । सदाचारका मान्यताका रूपमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारिता र सदाचारिता राख्न खोजिएको थियो ।सहकारी क्षेत्रमा यी विषय कार्यान्वयन हुँदा समाज नै सभ्य हुने हो, प्रत्येक प्रत्येकप्रति जवाफदेही हुने हुन् ।
आचरणगत पक्षले सहकारी संस्थालाई आदर्श अवस्थामा पु–याउन मद्दत गर्छन् । त्यसैले संस्थाका मूल्य घोषणा गर्ने र ती मूल्य अनुरूपका पदाधिकारीका आचरण व्यवस्थित गर्न नीति, नियम र आचारसंहिता लागू गर्ने, जिम्मेवारी वहन गर्दा निष्ठाको शपथ लिनेजस्ता कार्यहरू गरिन्छन् । तर, सहकारी क्षेत्रमा नीति, निष्ठा एवं समर्पणका पक्षहरू कमजोर हुँदै गएका छन् । व्यक्तिगत, सांगठनिक, सामाजिक र व्यावसायिक तहमा आवश्यक आचरणहरू स्खलित भएका छन् । यसैले अहिलेको सबैभन्दा चाहिएको विषय नै सदाचार हो, जसले सुशासनलाई दिगो बनाउन सक्छ । व्यक्ति आचारच्यूत किन हुन्छ भन्ने विषयमा उत्तर पाइन्न । तर, घटनाक्रम र प्रवृत्तिको विश्लेषणले केही हदमा उत्तर खोज्न भने सकिन्छ । जन्मले मानिस असल हुन्छ, कोही पनि खराब हुँदैन, कर्मले मात्र मानिस खराब वा असल भनिने हो । पारिवारिक, सामाजिक परिवेश, अभिमुखीकरण, रहनसहन, मूल्य, संस्कृतिजस्ता पक्षहरूले व्यक्तिलाई खराब वा असल बनाउँछ । जब व्यक्ति असल प्रक्रियामा लाग्छ, झनै असल र सत्कर्मी बन्छ, नैतिक बन्छ । मानसिक चेत, आत्मिक शक्ति र विवेकले मानिसलाई सकारात्मक बनाउँदै लान्छ । स–साना मानवीय कमजोरीबाट पनि प्रायश्चित गर्दै पछिल्ला व्यवहार सुधार्दै जान्छ । सहकारी सञ्चालकहरुमा नैतिकता र सदाचारिताको आत्म वोध गराई सुशासनको जग बलियो वनाउनु पर्दछ ।
सहकारी क्षेत्र र मूल्य प्रणाली
सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप देशका कृषक, कालीगढ, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न, समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्तता र स्वशासित सङ्गठनको रूपमा सहकारी संस्थाहरूको विकास गर्ने मनसाय रहेको छ ।सहकारी समुदायमा आधारित साझा व्यवसाय हो । समुदायको साझा आवश्यकता र आकांक्षाहरु संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणका माध्यमबाट पुरा गर्ने संगठित संस्थाको रुपमा सहकारी व्यवसाय सञ्चालन गरिन्छ । सहकारी संस्था सञ्चालनका लागि सहकारीहरुको विश्वव्यापी संगठन “अन्तर्राष्ट्रिय सहकारी महासंघ” ले सैद्धान्तिक मार्गदर्शनहरु प्रदान गर्नुका साथै सापेक्षित परिभाषा मार्फत व्याख्या गरेको हुन्छ । अझ यसलाई मुल्य र मान्यतामा आधारित व्यवसायको रुपमा समेत बुझ्न सकिन्छ ।
सिद्धान्त भनेको कुनै अपरिवत्र्य परिभाषा वा आधार नभई समयसापेक्ष गतिशिल एवम् परिवर्तनशिल आधार हो । सिद्धान्त कुनै पनि कार्य गर्नको लागि उक्त कार्य कसरी हुन्छ वा गर्दछ भनि व्यवस्थापन गर्ने आधारभूत बिचार, नियम वा मार्गदर्शन हो । यसले नियन्त्रणका साथै व्यवस्थापन र मार्गदर्शन प्रदान गर्दछ । सिद्धान्त विमुख हुनु वा सिद्धान्तको अनुपालना नगर्नु भनेको दुर्घटनाको खोजी गर्नु जस्तै हो । सिद्धान्तले विश्वास आर्जन गर्दै मौलिक सत्य स्थापित गर्दछ त्यसैले सिद्धान्तलाई सामान्य कानुन भन्दा धरै माथि र शक्तिशाली हुन्छ भन्न सकिन्छ । यसलाई हामी अपरिहार्य कानुनी आधार हो भन्ने अर्थमा बुझ्नु अझ श्रेयस्कर हुन्छ । कानुनसँग असहमति राख्नु वा सामान्य दायरा भन्दा बाहिर जाने प्रयासले तत्कालिन र अवस्था अनुरुपको प्रभाव मात्र पार्दछ तर सिद्धान्तको पालना नगर्नुले दीर्घकालिन प्रभाव पार्नुका साथै ठुलो दुर्घटना एकैपटक निम्त्याउँदछ । त्यसैले कुनै पनि कार्य वा जिम्मेवारी पुरा गर्दा उक्त कार्य वा जिम्मेवारीसँग सम्बन्धित सैद्धान्तिक ज्ञान हुनु आवश्यक छ । सहकारी संस्था सञ्चालनमा यसका सिद्धान्तको प्रयोग मुख्य आधार हो । आज नेपालमा सहकारीको संख्यात्मक विकास सँगै विभिन्न किसिमका चुनौतिहरु सिर्जित भएका छन्, जसको मुख्य कारण सैद्धान्तिक ज्ञानको अभाव वा त्यसप्रतिको उदासिनता नै हो ।
सैद्धान्तिक धरातलबिना सन् १७७६ मा सुरु भएको सहकारी अभियान लामो समय कायम रहन सकेन र विकासक्रमले विश्राम लियो । त्यसको लामो समय पश्चात सन् १८४४ मा पुनः आधुनिक सहकारीको विकास भएको पाइन्छ । रोचडेल अग्रणी संस्था आधुनिक सहकारीकोरुपमा स्थापित पहिलो संस्था हो । सुरुमा यसले गरेका निर्णयहरु र अभ्यासलाई समयक्रममा सिद्धान्तको रुपमा अबलम्वन गर्दै आएको पाइन्छ । रोचडेल अग्रणी संस्थाले सन् १८४५ मा व्यवसायको समीक्षा सहित मुख्य पाँच वटा नीतिगत विषयमा निर्णय गरेपश्चात तिनै पाँच नीतिगत निर्णयहरुलाई पाँच सिद्धान्तकोरुपमा विस्तारित एवम् अवलम्बन गर्दै लगेको पाइन्छ । सन् १८९५ मा अन्तर्राष्ट्रिय सहकारी महासंघको स्थापना भएपश्चात भने सहकारीका सिद्धान्तहरुको पुनरावलोकन एवम् अद्यावधिक गर्ने कार्य महासंघले गर्दै आइरहेको छ । तर आफ्नो स्थापनाको लामो समय महासंघ समेत अलमलमा रह्यो र प्रथम पटक सन् १९३७ मा “सहकार्यको रोचडेली सिद्धान्त”को रुपमा ७ वटा सिद्धान्तहरुको अन्तर्राष्ट्रिय सहकारी महासंघले स्वीकार एवम् व्याख्या गर्यो भने सन् १९६६ मा सहकार्यमा रोचडेली सिद्धान्तको परिमार्जन गरी प्रथम पटक ६ वटा “सहकारी सिद्धान्त” को रुपमा प्रतिपादन एवम् व्याख्या गर्यो । सन् १९९५ मा पुनः परिमार्जन सहित सहकारीका ७ वटा सिद्धान्त प्रतिपादित गरेको पाईन्छ । हाल विश्व भरका सहकारी संस्थाहरुले तिनै ७ वटा सिद्धान्तको परिपालना गर्नुपर्दछ ।सहकारी अभियानले प्रथम पटक सन् १९३७ मा रोचडेल अग्रणी संस्थाका असल अभ्यासहरुलाई सहकार्यका ७ वटा सिद्धान्तको रुपमा स्वीकार गरेको पाइन्छ । जसको सार यहाँ उल्लेख गरिएकोछ ः
१) ऐच्छिक तथा खुल्ला सदस्यता : यस सिद्धान्त अन्तर्गत मुख्य गरी विभेद रहित र उत्प्रेरणा एवम् पुरस्कार जस्ता विषयहरु पर्दछन् । सहकारीमा समुदायमा विद्यमान कुनैपनि प्रकारका विभेद विद्यमान रहनुहुँदैन । विशेषगरी जातीय, धार्मिक, जनजातीय, लैंगिक पहिचान, शारीरिक सक्षमता, वर्गीय जस्ता विभेदको आधारमा सदस्यताबाट बञ्चित गरिनु हुँदैन । साथै बञ्चित नगरिनुले मात्र खुल्ला सदस्यता कार्यान्वयन हुन नसक्ने भएकोले सदस्यताको लागि विभिन्न प्रकारका उत्प्रेरणा र पुरस्कारको व्यवस्थाहरु समेत गर्नु पर्दछ । उत्प्रेरणामा वित्तीय, गुणस्तरीय जीवन, अरुलाई लाभ प्रदान गर्ने, समुदायको जिम्मेवारी निर्वाह, वृत्ति विकासको अवसर जस्ता विषयहरु सहकारीले सुनिश्चित गर्नु पर्दछ । त्यसैले सदस्यता प्राप्तिमा रोक नलगाउनु मात्र खुल्ला सदस्यताको रुपमा लिनु हुँदैन ।
संस्थामा सदस्यता प्राप्त गर्न चाहने जोसुकै व्यक्तिले सदस्यताको लागि आवेदन दिन र सदस्यता प्राप्त गर्न सक्ने हुनु पर्दछ ।सहकारी संस्थाले सदस्य बन्न चाहने व्यक्तिलाई स्वागत गर्नु पर्दछ ।
२) सदस्यको प्रजातान्त्रिक नियन्त्रण : सदस्यहरुले योजना तर्जुमा, नीति निर्माण र निर्णय प्रक्रियामा एक व्यक्ति एक मतको आधारमा सदस्यहरुद्वारा निर्वाचित प्रतिनिधिहरु मार्फत सदस्यप्रति जवाफदेहिपूर्णरुपमा सञ्चालन गर्ने । योजना निर्माण, समीक्षा र नीति निर्माणमा दोहोरो सम्वादको आधारमा सदस्यहरुको अभिमतबाट निर्देशित रहने । नेतृत्व चयन र निर्णय प्रक्रियामा सम्पूर्ण सदस्यहरुको एक व्यक्ति एक भोटको मात्र अधिकार रहने । पुँजी लगानीको आधारमा मताधिकार नरहने । सहकारी संस्थाको बागडोर सदस्यहरुको हातमा रहनु पर्दछ ।सदस्यहरुको सक्रियतामा सदस्यहरुको सहभागिताको अधिकार समान हुनु पर्दछ ।सदस्यहरुलाई उछिनेर सहकारी संस्थाको नीति तर्जुमा वा नीतिजन्य निर्णय कार्य हुनु हुदैन ।सहकारी सदस्यको निर्णय स्वतन्त्रतामा प्रत्यक्ष वा परोक्ष रुपमा आँच आउनु हुदैन ।सदस्यीय सर्वोच्चतामा खलल पुग्नेगरी सहकारी संस्थाको सञ्चालकीय तह मिलाउनु हुदैन । सहकारी संस्थामा नियुक्त पदाधिकारी निर्वाचित प्रतिनिधि तर्फ अनि निर्वाचित प्रतिनिधि निर्वाचक सदस्य तर्फ उत्तरदायी रहनेगरी उत्तरदायित्व श्रृङखला स्थापित भएको हुनु पर्दछ ।
३) सदस्यको आर्थिक सहभागिता ; सहकारी संस्थाको पुँजी सदस्यहरुले नै जम्मा पारेको हुनु पर्दछ । पुँजीमा योगदान सदस्यताको शर्तको रुपमा रहनु पर्दछ ।व्यापारको आधारमा बचत(नाफा)को समानुपातिक वितरण ः सदस्यले संस्थामा गरेको व्यापारको आधारमा खुद बचत (नाफा) को वितरण गरिनु पर्दछ । प्रतिफलको विनियोजनमा सदस्यहरुको लोकतान्त्रिक नियन्त्रण कायम राख्नु पर्दछ । सहकारीको सदस्यताको निमित्त प्रत्येक व्यक्तिले तोकिएको न्यूनतम अंश धन (शेयर) सहभागिता जनाउनु पर्दछ भने उनीहरुको व्यवसायिक सक्षमता र सहभागिताको आधारमा अंश धन (शेयर) वृद्धि गर्नु पर्दछ । संस्थाले कमाएको नाफाबाट कम्तिमा एकवटा अविभाज्य कोष छुट्याई तोकिएको सीमाको अधिनमा रही समानुपातिक लाभ वितरण गर्नु पर्दछ । बचत तथा ऋण सहकारीको सन्दर्भमा प्रत्येक सदस्यले मासिकरुपमा आफ्नो कमाईको निश्चित अंश नियमित बचतको रुपमा सहकारीमा बचत गर्नु पर्दछ भने सोको भार धान्न सक्ने गरी वार्षिक रुपमा अनिवार्य अंशधन वृद्धि गर्नु पर्दछ ।
४) स्वायत्तता तथा स्वतन्त्रता : सहकारी संस्थाहरु आफ्ना सदस्यहरुवाटै नियन्त्रित आत्म सहयोगी, स्वायत्त संगठन हुन् । उनीहरुले सरकार लगायतका अन्य निकायसँग कुनै सम्झौता गर्नु पर्दा वा वाह्य पुँजी जुटाउनु पर्दा आफ्ना सदस्यहरुको लोकतान्त्रिक नियन्त्रण सुनिश्चित हुने तथा आफ्नो सहकारी स्वायत्तता कायमै रहने सर्तमा गर्दछन् । सहकारी संस्था सदस्यहरुबाट नियन्त्रित संस्था हुने भएकोले आफ्नो लागि आवश्यक निर्णय गर्न, नीति निर्माण गर्न, योजना निर्माण गर्न र नेतृत्व चयन गर्न स्वायत्त र स्वतन्त्र हुन्छन् । संस्थाले आफ्नो स्वायत्तता र स्वतन्त्रताको उपयोग गर्दा अन्तर्राष्ट्रिय सिद्धान्त, सम्बन्धित देशको प्रचलित संविधान र कानुन प्रतिकुल नहुने गरी उपयोग गर्नु पर्दछ ।
५) शिक्षा, तालिम र सुचना : सहकारी संस्थाहरुले आफ्ना सदस्य, निर्वाचित प्रतिनिधि, व्यवस्थापक एवं कर्मचारीलाई संस्थाको विकासमा प्रभावकारी ढंगले योगदान गर्न सक्षम बनाउन शिक्षा तथा तालिम प्रदान गर्नु पर्दछ । सदस्यहरुको चेतनास्तर वृद्धि गर्न सहकारी सम्बन्धि शिक्षा प्रबद्र्धन गर्ने अगाडी वढाउनु पर्दछ । सहकारी संस्थाले आफ्ना सञ्चालक, व्यवस्थापक र अन्य कर्मचारीहरुलाई सदस्यहरुलाई गुणस्तरीय एवम् प्रभावकारी सेवा प्रवाह गर्ने सम्बन्धमा तालिम तथा शिक्षा दिनु पर्दछ भने बिचार निर्माण गर्ने नेतृत्व वर्ग र युवा वर्गलाई सहकार्यको महत्वको बारेमा शिक्षा दिनु पर्दछ । बचत तथा ऋण सहकारी संस्थाहरुले आफ्ना सदस्यलाई व्यवसायिक शिक्षाका साथै उद्यमशिलता विकास सम्बन्धी तालिमहरु सञ्चालन गरी जीवनस्तर परिवर्तनमा भूमिका निर्वाह गर्नु पर्दछ ।
६) सहकारी संस्थाहरु बीच सहयोग : सहकारी संस्थाहरुले स्थानीय, राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संरचनाको माध्यमवाट आपसमा मिली काम गरेर सर्वाधिक प्रभावकारी ढंगले आफ्ना सदस्यहरुको सेवा गर्दछन् र सहकारी आन्दोलनलाई सुदृढ पार्दछन् । सहकारीले आफ्ना सदस्यहरुलाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न, सहकारीहरुको सशक्तिकरण गर्न र श्रोतको आदानप्रदान गर्नको लागि स्थानीय, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय संरचनाहरुमा आवद्ध भई सहयोग गर्नुपर्दछ । आफुसँग भएको श्रोत (गैरवित्तीय) र साधन अन्य संस्थाहरुलाई उपलब्ध गराउने र अन्य संस्थासँग भएको आफूले उपयोग गर्ने गर्नुपर्दछ । सञ्जाल संरचना मार्फत सम्पूर्ण किसिमका श्रोत र साधनको आदानप्रदानमा सहकार्य गर्नुपर्दछ ।
७) समुदायप्रतिको सरोकारः सहकारी संस्थाहरुले आफ्ना सदस्यले अनुमोदन गरेका नीति अनुरुप आफ्नो समुदायको दिगो विकासको लागि कार्य गर्दछन् । सहकारीले नीतिगत व्यवस्था मार्फत समुदायको दीगो विकासमा टेवा पु–याउनु पर्दछ । आफ्ना प्रत्येक निर्णय एवम् योजनाले समुदाय र पर्यावरणमा पार्ने प्रभाव बिचार गरी सकारात्मक योगदान गर्ने किसिमका निर्णय र योजना निर्माण गर्नुपर्दछ । आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय प्रभावको बिचार गरी सकारात्मक कार्यमा केन्द्रित हुनुपर्दछ ।
निष्कर्ष
सहकारीले आर्थिक र सामाजिक परिवर्तन एवं जागरण ल्याउन सक्छ । यसले ‘रोलमोडल’ को रूपमा काम गर्दा समग्र मुलुकमा सकारात्मक प्रभाव पर्दछ । यसर्थ सहकारी संस्थाले सर्वप्रथम आफ्नो निकायमा पूर्णतः सुशासन र सदाचारिताको नीति अख्तियार गरी यसलाई देशव्यापी अभियानमा रूपान्तरित गर्नुपर्छ । जसभित्र समग्र जीवन पद्धति र राज्य प्रणालीको सफलताको पक्ष लुकेको छ । साथै सहकारी इमान, खुलापन, सामाजिक उत्तरदायित्व र अर्काको ख्याल गरेर अगाडि बढ्ने अभियान हो ।तसर्थ सहकारीमा सुशासन कायम राख्दै यस क्षेत्रमा देखिएका विकृति विसंगतीहरुको अन्त्य गरी सहकारी सञ्चालन गर्नु समयको माग हो ।

2 Comments
Pingback: संस्थागत सुशासनः सहकारी क्षेत्र सुधारको अभिन्न रणनीति | Bishow Nath Kharel
Pingback: custom essay writing service