क्वालिफायर खेलमा ७७ रनको धमाकेदार जित
काठमाडौँ — सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा प्रवेश गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफायरमा रोयल्सले विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै उपाधि होडमा स्थान सुरक्षित गरेको हो। पराजित विराटनगरले भने ‘इलिमिनेटर’ मार्फत फाइनलमा पुग्ने अन्तिम अवसर पाउनेछ।
१५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमै ७८ रनमा समेटियो। टोलीका तर्फबाट फाफ डु प्लेसिसले ३६ रन जोडे पनि अन्य ब्याटर टिक्न नसक्दा ठूलो हार बेहोर्नुपर्यो। सुदूरपश्चिमका स्कट कुगेलेइन, अभिनाश बोहरा र हर्मित सिंहले समान दुई–दुई विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सात विकेटको क्षतिमा १५५ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। विनोद भण्डारीले संयमित ब्याटिङ गर्दै ५२ बलमा ६३ रन जोडे। उनले तीन चौका र दुई छक्का प्रहार गरे। त्यस्तै आसिफ शेख र शेरडोन ज्याकसनले समान २०–२० रन जोडे। हर्मित सिंहले १४ रन र इसान पाण्डेले १३ रनको योगदान दिए।
विराटनगरका प्रतिश जिसी र मार्सेन्ट दिलाङले दुई–दुई विकेट लिन सफल भए। सूर्य तामाङ र साम हेजलेटले एक–एक विकेट हात पारे।

