काठमाडौँ — यही डिसेम्बर १२ देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने एसीसी पुरुष यू–१९ एसिया कपका लागि नेपालले १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार अशोक धामीलाई कप्तान बनाउँदै टोली घोषणा गरेको हो।
घोषित टोलीमा नीरजकुमार यादव, दिलशाद अली, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिस लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश छेत्री र युवराज खत्री परेका छन्।
नेपाल समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित रहेकाे छ। नेपालले पहिलो खेल डिसेम्बर १३ मा श्रीलंकासँग, दोस्रो खेल डिसेम्बर १५ मा बंगलादेशसँग र तेस्रो खेल डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्नेछ।
यस पटकको प्रतियोगितामा आठ राष्ट्र सहभागी छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया परेका छन्। खेलहरूले आईसिसी एकेडेमी र द सेभेन्स स्टेडियममा स्थान पाउनेछन्।
दुवै समूहबाट शीर्ष दुई टोलीले डिसेम्बर १९ मा सेमिफाइनल खेल्नेछन् भने उपाधि भिडन्त डिसेम्बर २१ मा हुनेछ।

