काठमाण्डौ — जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीले होक्काइडो, आओमोरी र इवाते प्रिफेक्चरका तटीय क्षेत्रका नागरिकलाई ३ मिटरसम्मको सुनामीको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन चेतावनी जारी गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भूकम्पको केन्द्र आओमोरी प्रिफेक्चरको तटदेखि करिब ८० किलोमिटर टाढा र ५० किलोमिटर गहिराइमा रहेको थियो। धक्कासँगै जापानको उत्तर र पूर्वका विस्तृत भूभागमा कम्पन महसुस गरिएको थियो।
जापानी सार्वजनिक प्रसारक एनएचकेले जनाएअनुसार मियागी र फुकुशिमा तटीय क्षेत्रमा पनि सुनामी परामर्श जारी गरिएको छ। अधिकारीहरूले प्रभावित क्षेत्रका नागरिकलाई उच्च स्थानमा सर्न र समुद्री किनारबाट टाढा रहन आग्रह गरेका छन्।
जापानमा ठूला भूकम्प र सुनामीको जोखिम सामान्य भए पनि अधिकारीहरूले राहत तथा उद्धार संयन्त्र उच्च सतर्कतामा राखेका छन्।

