वैदेशिक रोजगारका विकृती हटाउन प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायमा देखिएका बेथिति रोक्न मातहतका निकायलाई स्पष्ट निर्देशन दिएकी छन्। विदेशमा ठगी र दुःखमा परेका नागरिकलाई उद्धार गर्न सरकारले प्रभावकारी प्रणाली बनाउनुपर्ने स्पष्ट गर्दै उनले मातहत निकायका पदाधिकारीहरूलाई सोही अनुसार काम गर्न निर्देशन दिइन्।
प्रधानमन्त्री कार्कीले श्रम, परराष्ट्र, कानुन मन्त्रालय तथा वैदेशिक रोजगार विभागका अधिकारीहरूसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको बैठकमा छलफल गर्दै कुवेतमा अलपत्र महिला कामदारको छिटो उद्धार गर्न पनि जोड दिएकी हुन्।
उनले व्यवसायी र दलालको मात्र लाभ हेर्ने नीति बनाउनु नहुने, विदेश जाने श्रमिकको सुरक्षा र कल्याण नै प्राथमिकता हुनुपर्ने बताएकि छन्। उनले भनिन्, “म्यानपावर व्यवसायीले केवल मोटाउने काम नगरुन्, श्रमिकलाई सचेत बनाउनु जरुरी छ। अलपत्र पार्न हुँदैन।”

